Fri. Oct 18th, 2024

श्रीलङ्काद्वारा चीनलाई ऋण तिर्न सजिलो पारिदिन आग्रह

काठमाण्डौं, २०७८ पुस २६ गते सोमबार । देश आर्थिक सङ्कटमा परेपछि श्रीलङ्काका राष्ट्रपतिले आफ्नो देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्न चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह गर्नुभएको छ ।

गोटाबय राजपक्षले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतवार भएको भेटमा सो अनुरोध गर्नुभएको हो । गएको एक दशकमा चीनले श्रीलङ्कालाई सडक, विमानस्थल र बन्दरगाह बनाउन पाँच अर्ब अमेरिकी डलरभन्दा बढी ऋण प्रवाह गरेको छ।

तर आलोचकहरूले सो पैसा फाइदा नहुने अनावश्यक योजनाहरूमा खर्च गरिएको बताउने गरेका छन्। “कोभिड-१९ महामारीका कारण देखिएको आर्थिक सङ्कटको समाधानका लागि ऋण भुक्तानीलाई पुनर्संरचना गर्न ध्यान दिए देशका लागि ठूलो सहयोग हुने राष्ट्रपतिले औँल्याउनुभयो,” राजपक्षको कार्यालयले बताएको छ।

विज्ञप्तिमा चीनलाई श्रीलङ्का निर्यात हुने वस्तुमा “सहुलियत” दिन पनि अनुरोध गरिएको बताइएको छ। यद्यपि त्यसबारे थप विवरण दिइएको छैन।

गत वर्ष श्रीलङ्काले चीनबाट साढे तीन अर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो। राजपक्षले चिनियाँ पर्यटकहरूले कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएका कडा नियमको पालना गरेमा श्रीलङ्काको ढोका उनीहरूका लागि खोल्न सकिने बताउनु भएको छ ।

महामारीअघि श्रीलङ्का आउने पर्यटकमा सबैभन्दा ठूलो सङ्ख्या चिनियाँको थियो र उसँले चीनबाट अन्य देशभन्दा धेरै सामान आयात गरेको थियो। बीबीसी

Facebook Comments