लिपुलेकमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग
काठमाण्डौं, २०७८ पुस २६ गते सोमबार । काठमाण्डाै-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको काम भइरहेको भन्दै दिएको अभिव्यक्तिमा राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ । साथै जनमोर्चाले नेपाल सरकारलाई भारतसँग यो विषयमा कुराकानी गर्न र निर्माणको काम रोक्न पनि माग गरेको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति निकालेर मोदीको पछिल्लो सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले केहीदिनअघि भारतको उत्तराखण्ड राज्य हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो ।
गएको वर्ष नै भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उद्घाटन गर्नुभएको थियो । उज्यालो अनलाईन