काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, माघ २ गते उद्घाटन गरिदै
काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । उपत्यकाको महत्वपूर्ण सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ । वि.सं २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको हो । उक्त सम्पदा काठमाण्डौ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो ।
आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनर्निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ । यही पुस मसान्त्सम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताउनुभयो । वि.सं. २०७५ साल वैशाख १६ गतेदेखि पुनर्निर्माणको काम समितिमार्फत सुरु गरिएको थियो ।
प्राचिनकालमा काष्ठमण्डपको निर्माणमा एउटा विशाल रुखका हाँगाविँगा प्रयोग गरिएको किम्वदन्दती रहे पनि यस पटक भने काष्ठमण्डप पुनर्निर्माणका लागि तराईका ६ वटा जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ । अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप पुनर्निर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ । अन्यको तुलनामा सालको काठ बढी टिकाउ हुने भएकाले काष्ठमण्डप पुनर्निर्माणमा सालको काठ प्रयोग गरिएको शाक्यको भनाइ छ ।
काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो । ‘काष्ठमण्डपका मूल चार थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ प्रयोग गरिएको छ । पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्यायाइएको अग्राखको हो । पुनर्निर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग छ ।
गोरखापत्र अनलाईनका अनुसार पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ । त्यसैगरी भूकम्पका कारण क्षति भएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । यहाँ ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन ।
भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शयनकक्ष, त्रिभुवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ । अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै पुनर्निर्माणको काम हुन नसकेको हो ।