नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत वैचारिक, राजनीतिक दस्ताबेज र विधान मस्यौदा प्रस्तावमा सामूहिक छलफल
काठमाण्डौं, २०७८ पुस १३ गते मंगलबार । नेकपा (माओवादी केन्द्र) को बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का वैचारिक र राजनीतिक दस्ताबेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदा प्रस्तावमा सामूहिक छलफल जारी छ ।
८ औं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक दस्ताबेज पेस गर्नुभएको थियो ।
सो दस्ताबेजमा राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता, समाजवादी क्रान्तिको रणनीति र कार्यनीति लगायत समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू समेटिएका छन् ।
यसैगरी, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदामा १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति रहने लगायतका प्रस्तावहरू समेटिएका छन् ।
माओवादी केन्द्रको विधान मस्यौदा अनुसार पदाधिकारीमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने बहुपदीय व्यवस्थामा जाने प्रस्ताव छ ।
यसैगरी बन्द सत्रमा नेता सुरेन्द्र कुमार कार्की (राम कार्की) ले पार्टी अध्यक्ष ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेस गर्नुभएको छ । उहाँले आफ्नो पूरक प्रस्तावमा क्रान्तिकारी कम्युनिष्टहरुले संसद्को उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा मात्र बन्धक बनाउन धारणा राख्नुभएको छ । माओवादी केन्द्रले सो प्रस्तावहरूमा छलफल गर्न बन्द सत्रले २५ वटा समूह बनाएको छ । सो समूहमा आज दिनभर समूहगत छलफल जारी रह्यो । आज दिनभर समूहगत छलफल गरेर भोलि बुधवार बिहान ११ बजेदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो ।
माओवादी केन्द्रको अध्यक्ष मण्डलको बैठकले भोलि (बुधवार)को बन्द सत्र दिउसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमा सुरु गर्ने निर्णय गरेको छ । यसैबीच, महाधिवेशन अन्तर्गत बन्द सत्र चलिरहेकै बेला पार्टीको स्थायी समिति बैठक पनि बसेको छ ।
रेडियो नेपालका अनुसार महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक दस्ताबेज र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भएको छ ।
बैठकमा केन्द्रिय समितिलाई समावेशी बनाउने विषयमा विभिन्न क्लष्टरलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।