Sat. Nov 16th, 2024

नेकपा माओवादीको आठौं महाधिवेशन आजदेखि सुरुहुँदै

काठमाण्डौं, २०७८ पुस ११ गते आईतबार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन आजदेखि सुरुहुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौंमा भव्य समारोहबीच आज दिउसो ३ वजे महाधिवेशनको उद्घाटन हुने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक तथा विश्व कम्युनिष्ट आन्दोलनका लोकप्रीय नेता माओ चतोङको जन्मदिन (डिसेम्बर २६) को अवसर पारेर आज महाधिवेशनको उद्घाटन गरिन लागेको हो। महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ । महाधिवेशन नयाँ नेतृत्व, विचार र राजनीतिक कार्यदिशा तय गर्ने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताउनुभयो । सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि छलफल र बहस गरी नयाँ विचार र कार्यदिशा निर्माण गरिने उहाँको भनाइ छ ।

जनयुद्धदेखि खुला राजनीतिसम्मका कमीकमजोरीका विषयमा आत्मसमीक्षासहित नयाँ कार्यदिशा निर्माण गरिने भएको छ । शनिबार साँझ बसेको स्थायी समितिको बैठकले प्रतिनिधिबारे छलफल गरे पनि टुङ्गो लगाएको छैन । आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउने भएको छ ।

महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता हुनेछ । जसमा १० प्रतिशत मनोनीत हुनेछन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नै खर्चमा खाने, बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीको अन्तरिम विधानअनुसार बहुपदीय प्रणालीमा नेतृत्व चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष चयन हुनेछन् । पदाधिकारीको सङ्ख्या १५ जना हुने प्रस्ताव गरिए पनि उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या भने तोकिएको छैन ।

कुल २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिमको ५ प्रतिशत कोटा व्यवस्था गरिएको छ । १३ प्रतिशत दलितलाई २ प्रतिशत थप गरेर विशेष अधिकार व्यवस्था गरिएको छ । २ सय ९९ केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जना आउनेछन् । ६७ जना महिला र १५ जना मुस्लिम समुदायबाट आउनेछन् । केन्द्रीय समितिमा ४८ जना युवाको प्रतिनिधित्व हुँदै छ । महाधिवेशन पुस १५ गते सम्पन्न हुनेछ ।

Facebook Comments