रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि राजीनामा
काठमाण्डौं, २०७८ पुस १ गते बिहीबार । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको हो ।
‘नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ’, रिजालले प्रधानमन्त्री प्रधानमन्त्री देउवालाई बुझाउनु भएको राजीनामा पत्रमा लेख्नुभएको छ, ‘यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।’ रिजालले मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद दिनुभएको छ ।
मन्त्री रिजालले सरकार र पार्टी सञ्चालन फरक विषय भए पनि पार्टी भित्रको समर्थनलाई राजनीतिक पुँजीको संज्ञा दिँदै अहिलेको अवस्थामा त्यो राजनीतिक पुँजी आँफुसँग नरहेको ठहर गरी मन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेको स्पष्ट पार्नुभयो ।
मन्त्री रिजालले आफू सांसदको हैसियतमा काम गरिनै रहने भएकाले सरकार र जनताका बीचमा आफू रहिरहने बताउनुभयो ।
डा. रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।