Sat. Nov 16th, 2024

भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाण्डौं, २०७८ मंसिर २२ गते बुधबार । 

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको पुष्टि भएको छ।

भारतीय वायुसेनाले ट्वीट गरेर उहाँको निधनको जानकारी दिएको हो। उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए। त्यसमध्ये १३ जनाको निधन भएको हो। रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दुस्ख व्यक्त गर्नुभएको छ ।

उहाँले ट्विटरमा लेख्नु भएको छ, “तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दुस्ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उहाँकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उहाँहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गर्नुभएको थियो। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।”

भारतीय वायु सेनाको एमआई-१७भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को जनवरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहनु भएको छ ।

जेनरल रावतसँगै उहाँकी पत्नीको पनि निधन भएको बताइएको छ। बीबीसी

Facebook Comments