Sun. Oct 20th, 2024

चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नेपाली हस्तकलाको प्रवर्द्धनमा महत्वपूर्ण

काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । यही नोभेम्बर ५ देखि ११ तारिखसम्म चीनको शाङहाईमा आयोजित चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी शंकर कोइराला नेपालका एक मात्र व्यावसायी हुनुहुन्थ्यो। शाङहाईमा बसेर नेपाली हस्तकलाका सामान बेचिरहनु भएका कोइरालाले दोस्रो पटक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिनु भएको हो।

एक्स्पोमा सहभागी भएपछि चिनियाँ मिडिया ग्रुप सीएमजीको नेपाली सेवासँगको अन्तर्वार्तामा कोइरालाले एक्स्पो नेपाली हस्तकलाको चिनियाँ बजार प्रवर्द्धनमा महत्वपूर्ण र उपलब्धिमुलक रहेको बताउनुभयो। आगामी वर्ष आयोजना हुने पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुनका लागि पनि उहाँले नाम दर्ता गराइसकेको बताउनु भएको छ।

उहाँले पस्मिना, सिङ्गिङ बोल र नेपाली झोला प्रदर्शनीमा राख्नु भएको थियो। त्यसमध्ये नेपाली पस्मिना र सुइटर अधिक चिनियाँ क्रेताले मन पराएको र व्यापार प्रवर्द्धनमा राम्रो अर्डर आएको पनि उहाँले बताउनुभयो। नेपाली महिला सीप विकास अर्थात् ‘ओमन स्किल डेभलोपमेन्ट’ले बनाएका झोलालाई पनि कोइरालाले चीनमा ल्याएर बिक्री गर्ने गर्नु भएको छ।

चीनले विश्वभरिका सामानलाई चिनियाँ बजारमा बिस्तार गर्नका लागि एक्स्पो आयोजना गरेको र यसले नेपाली सामानलाई चिनियाँ बजार खोज्न सजिलो भएको कोइरालाले बताउनुभयो। गत वर्षभन्दा यसपटकको एक्स्पो निकै व्यवस्थित र सुरक्षित रहेको पनि उहाँको अनुभव छ।

सन् २०१३ मा पहिलोपटक चीन भ्रमणमा जानु भएका कोइरालाले सन् २०१५ देखि शाङ्हाईमा व्यापार शुरु गर्नु भएको हो। उहाँले सन् २०१८ मा शाङहाईमा आफ्नै ‘एन्जल ह्याण्ड’ नामक कम्पनी दर्ता गराएर व्यावासायिक भिसा लिएर चीनमा व्यापार गरिरहनु भएको छ।

एक्स्पोमा पाएको अर्डरले नेपाललाई पनि निकै फाइदा पुगेको उहाँले बताउनुभयो। नेपाली पस्मिना र सुइटरको अर्डर पाएका कोइरालाले नेपाली उद्योग र कामदारले पनि काम पाउने विश्वास व्यक्त गर्नुभयो । सीएमजी

Facebook Comments