Sat. Oct 19th, 2024

अस्ताउँदो सूर्यलाई श्रद्धा एवम् भक्तिपूर्वक पूजा गरी अर्घ्य दिईयो

- छठ पर्वको तेस्रो दिन

काठमाण्डौं, २०७८ कात्तिक २४ गते बुधबार । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई श्रद्धा एवम् भक्तिपूर्व पूजाआजा गरी अर्घ्य दिईयो । छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु दिउसैदेखि जलासय तर्फ लागिरहेको दृश्य यत्रतत्र देखिन्थ्यो ।

आज काठमाण्डौंको गौरीघाट क्षेत्रको बागमती नदी किनार, कमलपोखरी, थापाथली लगायतका क्षेत्रमा छठपर्वको भव्य रौनक देखियो । ती स्थानहरुलाई सरसफाई गरी विजुली बत्ति, केराका थाम, फूल र बेलुनले सजि सजाउ पारिएको देखिन्थ्यो । छठ पूजा समिति गौरीघाट र पशुपति विकास कोषले संयुक्त रुपमा छठ पूजाको संयोजन गर्दा गौरीघाट क्षेत्र भव्य, सम्य अनि सुन्दर देखिन्थ्यो । छठका उपासक तथा ब्रतालुहरु भन्दा पनि सर्वसाधारण र रमितेहरुको ति क्षेत्रमा घुइचो लागेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ कमलपोखरी र गौरीघाटमा सूर्यदेव र छठीमाईको पूजा अर्चना गर्नुभएको छ । उहाँले गौरीघाट क्षेत्रमा स्थापना गरिएको सूर्यदेव र छठीमाईको दर्शन गर्दै छठपर्वको शुभारम्भ गर्नुभयो ।

उपत्यका बाहिर मोरंग जिल्लाको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा श्रद्धालु भक्तजन, ब्रतालु तथा हजारौंको संख्यामा स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर पुगेका थिए । त्यसैगरी जनकपुर, बीरगञ्ज लगायत तराई मधेसका सबै जिल्ला तथा क्षेत्रमा पनि भव्य रुपमा
छठ पूजा गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसहरुले माक्सको प्रयोग गरेका थिए । घरबाट खोला, नदी तलाउ टाढा पर्ने ब्रतालुहरुले घर वरिपरीको खाली जग्गामा खाल्डो खनी पानी भरी खाल्डाको चारैतिरका किनारालाई केराको थम्बा, सयपत्री, मखमली, गोदावरी लगायत विभिन्न जातका फूल, त्रिपाल, विजुली वत्ति, विभिन्न रुखका पात आदिले झकिझकाउ पारेर त्यसै स्थानमा सूर्यलाई विधिपूर्वक पूजापाठ गरेका थिए । ती स्थानहरुमा छठ पर्वको रमाईलो हेर्ने र छठको व्रत वस्नेहरुको वाक्लो उपस्थितीले वातावरणनै मनमोहक भएको देखिन्थ्यो ।

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

Facebook Comments