Fri. Apr 24th, 2026

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशलाई ठगी लगायतको अभियोगमा ११ वर्षको जेल सजाय

       

काठमाण्डौं, २०७८ कात्तिक २३ गते मंगलबार । बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकास्थित एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ।

ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उहाँलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो। उहाँले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ। ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए।

पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ।

उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो। पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक(फरक सजाय सुनाइएको छ। बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ।

यसअघि ज्यानुअरी ५, २०२० मा ढाकास्थित एक अदालतले उहाँहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सन् २०१६ मा एसके सिन्हाले सरकारसँगको कडा मतभेतका माझ छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए।

पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उहाँ पछि क्यानडा सर्नु भएको बताइएको छ। विदेशमा रहँदा उहाँले आफ्नो जीवन र काममा आधारित ‘अ ब्रोकन ड्रीम’ नामक पुस्तक लेख्नु भएको थियो र उक्त पुस्तकले निकै विवाद निम्त्याएको थियो। बीबीसी

Facebook Comments