Fri. Oct 18th, 2024

नेकपा एमालेको महाधिवेशन तयारी तीब्र, महाधिवेशनमा नेकपा एसलाई निम्ता नदिने

काठमाण्डौं, २०७८ कात्तिक १७ गते बुधबार । नेकपा एमालेको महाधिवेशन तयारी तीब्र पारिएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन आज केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारी अनुसार एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ ।

यसैबीच, एमालेले आफूबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा गठित नेकपा एसलाई आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनमा आमन्त्रण नगर्ने भएको छ ।

नेकपा एमाले केन्द्रिय प्रचार विभागद्वारा आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रणा गरिए पनि अवैध गर्भ र राजनीतिक षड्यन्त्रबाट जन्मेको दललाई महाधिवेशनमा निम्ता गर्न नसकिने भन्दै नेकपा एसलाई आमन्त्रण नगर्ने सङ्केत गर्नुभयो ।

एक प्रश्नको जवाफमा एमाले प्रचार विभाग प्रमुख भट्टराईले लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको उल्लेख गर्दै महाधिवेशनले यसबारे ठोस धारणा बनाउने र अब हुने निर्वाचनबाट एमाले मुलुककै ठूलो दल बनेर सरकार गठन गर्ने बताउनुभयो ।

उहाँले राजनीतिक षडयन्त्रमार्फत मुलुकको सबैभन्दा ठूलो दल भएर पनि एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो  । एमालेमा लागेको धक्कालाई महाधिवेशनले शक्तिको रुपमा बदल्दै पार्टीको वर्चस्वलाई फर्काउने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

एमालेको दशौँ महाधिवेशनले विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारी सहितको २ सय २५ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

एक तिहाइ महिलासहित केन्द्रिय कमिटी समावेशी हुनेछ । यस्तै महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रिय लेखा आयोगको पनि चयन गर्नेछ ।

महाधिवेशनमा नेतृत्व निर्वाचनको कार्य इलेक्ट्रोनिक भोटिङ मार्फत गरिने एमालेले जनाएको छ । मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको दशौँ महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

Facebook Comments