Sat. Oct 19th, 2024

अफगानिस्तानबाट थप ३२ नेपालीकाे उद्धार, अब कोही पनि उद्धारको पर्खाइमा नरहेको मन्त्रालयको दाबी

काठमाण्डौं, २०७८ कात्तिक १३ गते शनिबार । सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज काठमाण्डौ ल्याएको छ । आज उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट नौ सय ४० जना नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज नेपाल आएकाहरु श्रम स्वीकृति नलिइकनै अनौपचारिक हिसाबले रोजगारीको लागि अफगानिस्तान गएका मन्त्रालयले जनाएको छ । राजधानी काबुलसहित विभिन्न ठाउँमा छरिएर बसेका उनिहरुलाई एकै ठाउँमा जम्मा पारेर आज काठमाण्डौ ल्याइएको हो । अब संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायमा काम गर्ने केही नेपाली मात्रै अफगानिस्तानमा रहेको मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका निकायले अफगानिस्तानमा रहेका नेपालीलाई कुनै खतरा नरहेको जानकारी दिँदै कुनै जोखिम भएमा तत्कालै फर्काइने जानकारी दिएको पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अब अफगानिस्तानमा कुनै पनि नेपाली उद्धारको पर्खाइमा नरहेको बताउनुभयो । तालिबानले अफगानिस्तान कब्जा गर्ने तयारी गर्नासाथ संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जापान, विभिन्न रोजगारदाता कम्पनी लगायतको सहयोगमा नेपालीलाई उद्धार गरिएको भन्दै मन्त्रालयले नेपालीको उद्दारमा सहयोग पर्‍याउने सबैलाई धन्यवाद पनि दिएको छ । उज्यालो अनलाईन

Facebook Comments