Sat. Oct 19th, 2024

भारतीय राज्य त्रिपुरामा भड्कियो मुस्लिमविरोधी हिंसा

काठमाण्डौं, २०७८ कात्तिक १२ गते शुक्रबार । भारतको उत्तर-पूर्वी राज्य त्रिपुरामा मुस्लिमहरूको सम्पत्ति र मस्जिदहरूमा हमला भएपछि तनाव सिर्जना भएको छ। प्रभावित क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै जमघटहरूमा प्रतिबन्ध लगाइएको छ।

हिंसा भड्किएपछि हिन्दू समूह र प्रहरीबिच झडपहरू भएका थिए। ती समूहहरूले हालै बंगलादेशमा हिन्दूहरूमाथि गरिएका हमलाको विरोधमा र्‍याली आयोजना गर्न नदिएकोमा प्रहरीविरूद्ध प्रदर्शन गरेका थिए।

यसै महिनाको सुरुतिर छिमेकी बाङ्लादेशमा भएका घटनामा कम्तीमा सातजनाको मृत्यु भएको थियो। दुर्गा पूजाको अवसरमा कुरानको अपमान गरिएको भन्ने हल्ला फैलिएपछि त्यहाँ मन्दिरहरूमा आक्रमण हुनुका साथै अल्पसङ्ख्यक हिन्दूहरूका सयौँ घर तथा व्यवसायहरू जलाइएको थियो।

त्रिपुरा तीनतिरबाट बाङ्लादेशले घेरिएको छ र छिमेकी आसाम राज्यसँग साँघुरो बाटोले जोडिएको छ। उक्त राज्य सन् २०१८ पछि केन्द्रमा सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा छ।

त्यसअघिको २५ वर्ष त्यहाँ कम्युनिष्ट शासन चलेको थियो। बीबीसी

Facebook Comments