Fri. Oct 18th, 2024

पूर्वी नेपालमा २४ घण्टादेखि अविरल वर्षा, धानवालीमा ठूलो क्षति

विराटनगर, २०७८ कात्तिक २ गते मंगलबार । २४ घण्टादेखि पूर्वी नेपालका अधिकांश भागमा अविरल वर्षा भैरहेको छ । सोमबार वेलुकी ६ वजेदेखि आएको पानी यो समाचार तयार पार्दा समेत रोकिएको छैन । विराटनगर, धरान, इटहरी, इनरुवा, दमक, विर्तामोड, चन्द्रगढी, भोजपुर, इलाम, ताप्लेजुङ, पाँचथर, सिरहा, सप्तरी, उदयपुर, सोलुखुम्बु लगायतका क्षेत्र र जिल्लामा परिरहेको पानीले जनजीवन नराम्ररी प्रभावित भएको छ । हावाहुरी सहित निरन्तर आएको पानीले मोरंग, सुनसरी, झापा, उदयपुर, सिराहा, सप्तरी लगायतका जिल्लामा लगाईएको पाक्नै लागेको धान ठूलो मात्रामा नस्ट भएको छ । अधिकांश क्षेत्रमा धानको बाला पानी मुनी डुबेको छ भने कतिपय क्षेत्रमा काटेको धान नराम्ररी नष्ट भएको छ ।

रोप्ने वेलामा पानी र मलको चर्को अभाव भोगेका किसानहरु पाक्न लागेको धानवाली वर्षाकै कारण नष्ट हुँदा कसरी छाक टार्ने होला भन्ने चिन्तामा डुबेका छन् । मोरंग झोराहाटका किसान नरनाथ भट्टराई, बाबुराम मुडियारी र बलराम मुडियारी हावा हुरी र वर्षाले भित्रियाउनै लागेको धान नष्ट हुँदा आफुहरुलाई असाध्यै समस्या भएको बताउनु हुन्छ । वर्षभरी खाने र घरखर्च टार्ने धान नष्ट हुँदा सरकारले केही सहायता गर्ला कि भन्ने उहाँहरुको आसय रहेको छ ।

अविरल वर्षाको कारण पशुपालक कृषक पनि चिन्तामा परेका छन् । दुई दिनदेखि परेको पानीका कारण घाँस काट्न जान नसकिएको उनीहरुको गुनासो छ ।

अविरल वर्षा र प्रतिकुल मौसमका कारण काठमाडौंबाट पूर्वी नेपाल र विराटनगरबाट विभिन्न स्थानमा हुने हवाई उडान समेत नराम्ररी प्रभावित भएका छन् जसका कारण यात्रुहरुको कन्तविजोक भएको छ ।

सुनसरीको इटहरी वजारमा आएको बाढीका कारण सवारी सञ्चालनमा समस्या भएको छ भने बाढीकै कारण धरान र धनकुटाको सम्पर्क विच्छेद भएको छ ।

Facebook Comments