Fri. Apr 26th, 2024

बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र १८ वर्षदेखि डाक्टरबिहीन

बैतडी, २०७६ पुष १३ गते आईतबार ।

२० वर्ष अघि स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि १८ वर्षसम्म डाक्टर देखिएनन् । एक वर्षअघि झलक्क देखिएका डाक्टर पनि पाँच महिनाअघि सरुवा भएर गएपछि केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र डाक्टर विहीन बन्न पुगेको छ ।

यो कथा एशियाकै पहिलो महिलामन्त्री द्वारिकावेदी ठकुरानीको गाउँको स्वास्थ्य केन्द्रको हो । गाउँको प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर नहुँदा स्वराड क्षेत्रका स्थानीय उपचार गर्न भारत जानुपर्ने बाध्यता खेप्दै आईरहेका छन् ।

गोरखापत्र अनलाईनका अनुसार बैतडीको तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहका ६० हजार स्थानियवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने मेलौली नगरपालिकाको छेउमै रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर र स्टाफ नर्स नहुँदा आफै बिरामी परेको छ ।

बैतडीको तल्लो स्वाड क्षेत्रको मेलौली नगरपालिका–७, मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्की एक वर्ष बसेर पाँच महिना अघि अध्ययन विदामा गएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो ।

पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका गरि तीन वटा स्थानीय तहलाई पायक पर्ने ठाउँमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर बस्ने गरेका छैनन् ।

स्वराडमा डाक्टर झुल्किन मात्रै आउने गरेको स्थानियले पीडा सुनाएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि स्थानीय उपचार गर्न भारत जाने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताउनुभयो ।

भाटले भन्नुभयो, “२० वर्षदेखि डाक्टरको नाम मात्रै सुन्यौं, डाक्टर आएनन् । एक वर्षअघि आएका डाक्टर पनि सरुवार भएर जानुभयो । दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि स्टाफनर्स समेत सरुवा भएर गए । द्वारिकादेवी ठकुरानीकै गाउँको यो अवस्था छ”

डाक्टर र स्टाफनर्स नभए पछि अहेवको भरमा प्राथमिक स्वास्थ्यकेन्द्र सञ्चालन भईरहेको अहेव मुकेशकान्त दयालले बताउनुभयो ।

२०१६ सालमा केसरपुर हेल्थ सेन्टरका नामले स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र नामारण भई २०५६ सालदेखि एक जना डाक्टर र दुई जना स्टाफनर्सको दरबन्दी कायम भएको थियो ।

१८ वर्षदेखि डाक्टरविहीन केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैय्याको अस्पताल बनाउन सरकारले पहल सुरु गरेको छ ।

स्तरोन्नतीको अध्ययनका लागि प्राविधिक टोली गत मंसिर २० गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत अध्ययन गरे पनि जग्गा दुईतिर स्थापना हुनु पर्ने माग आएको छ ।

नगरपालिकाले नै नयाँ ठाउँमा अस्पताल सार्ने निर्णय गरेपछि स्थानीयवासी दुईतिर बिभाजित बनेको स्थानीय लोकराज भट्टले बताउनुभयो ।

भट्टले भन्नुभयो, मेलौली नगरपालिका–७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र नगरपालिकाले वडा नम्वर १ मा सार्न खोजेपछि स्थानीयले आन्दोलन समेत गरे । भएको संरचना छोडेर नगरपालिकाले अरु ठाउँमा पनि जग्गा दाता छन् भनेर अनावश्यक विवाद निकालेको छ । नगरपालिकाले डाक्टर बोलाउन नसक्ने तर, अस्पताल नै सार्ने निर्णय गरेपछि स्थानीयले विरोध गरेका छन् ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नती गर्न स्थलगत अध्ययनका लागि आउँदा दुई ठाउँमा अस्पतालको माग आएको परामर्शदाता कम्पनीका ईन्जिनियर ईश्वर बरालले बताउनुभयो ।

ईन्जिनियर बरालले भन्नुभयो, यो विषय स्थानीय सरकार र स्थानीयवासीको सरोकारको कुरा हो । हामीले विस्तृत अध्ययन प्रतिवेदन बुझाउँदा यो कुरा उल्लेख गरेर बुझाउँछौ ।

डाक्टर नहुँदा आफै बिरामी जस्तो बनेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाउँदा जग्गा विवाद किन आएको हो ? भन्ने विषयमा बुझ्न खोज्दा मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायकले भन्नुभयो –‘यो स्थानीय जनताको माग हो । यसमा नगरपालिकाले केही बोल्न सक्दैन । मन्त्रालयको टिम आएको छ । उहाँहरुले निर्णय गर्नु हुन्छ’

Facebook Comments