Fri. Nov 15th, 2024

रुपन्देहीको मोतीपुर झडपमा घाइते ४ जना प्रहरीलाई हेलिकिप्टरबाट काठमाडौं ल्याइयो

काठमाण्डौं, २०७८ असोज २५ गते सोमबार ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते चारजना प्रहरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
उनीहरुलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनीहरुको एपीएफ अस्पताल काठमाडौँमा उपचार हुने छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान ज्ञयराज पुन मगर तथा सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ ल्याइएको हो । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।

झडपमा परी नेपाल प्रहरीका नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताउनुभयो । घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरीमध्ये काठमाडौं रिफर गरिएका दुई जनावाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएका छन् ।

झडपमा परी १८ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । औद्योगिक क्षेत्रको जग्गामा सुकुमबासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो । स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले अर्को सूचना नभएसम्मका लागि मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

Facebook Comments