Wed. Sep 25th, 2024

मन्त्री नियुक्तिकाे विषयमा न्यायालयलाई जोड्नु गलत : मन्त्री कार्की

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोडिएको कुरा निराधार रहेको जनाएको छ ।

हेरफेर पछिकाे पहिलाे मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हमाल नेपाली काङ्ग्रेसको महत्वपूर्ण पदमा रहेको र उहाँको योगदान र लगशीलताका कारण उहाँलाई प्रधानमन्त्रीले नियुक्त गर्नुभएकाले यो नियुक्तिप्रति न्यायालयलाई जोड्नु गलत भएको जानकारी दिनुभयो ।

बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यसैबीच राससका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उहाँले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिनुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मनत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ । यसअघि पनि उहाँ नै सरकारको प्रवक्ता हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरूका कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments