Fri. Oct 18th, 2024

नमोबुद्धमा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान

काठमाण्डौं, २०७८ असोज २१ गते बिहीबार । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।

गत साउन १ गतेदेखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गर्नुभयो । उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अनलाईन खवरका अनुसार कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने ५ हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु २ हजार, एम्बुलेन्स खर्चबापत १ हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार र चारपटक गर्भ जाँच गराएबापतको ८ सय एकमुष्ट रुपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोरी जन्माउने आमालाई निरन्तर सम्मान गर्दै जानेछौँ, आमा र शिशुका लागि पोषणयुक्त खानपानमा वडाद्वारा आर्थिक सहयोग दिन थालेका छौँ ।”

Facebook Comments