Wed. Sep 25th, 2024

कोभिड महामारी र राजनीतिक अस्थिरताले म्यान्मारमा भोकमरीको खतरा

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । राजनीतिक अस्थिरताका कारण ओरालो लागेको अर्थतन्त्र र महामारीका कारण लगाइएका प्रतिबन्धले म्यान्मारका गरिबहरूले भोकमरीको सामना गरिरहेका छन्।

“सहायता समूहले दिने खानेकुरा लिनका लागि म लाइनमा बसेको थिएँ। आधा घण्टाभन्दा धेरै कुरेँ तर मेरो पालो आउनुअघि नै खानेकुरा सकियो,” आँसु पुछ्दै म वेले भन्नुभयो ।

“म रित्तो हात फर्किएँ। चार वर्षीया छोरीलाई केही खुवाउन पाइनँ भन्ने लाग्यो,” उहाँले भन्नुभयो । मध्य म्यान्मारस्थित मोन्याकी ४२ वर्षीय म वे धनी परिवारका घरमा सरसफाइको काम गर्ने गर्नुहुन्थ्यो ।

तर जुलाईमा कोभिड हुनेहरूको सङ्ख्या ह्वात्तै बढेपछि उहाँले काम गर्ने घरका मालिकले काम गर्न नआउन भने। त्यति बेला सरकारले सबैलाई घरमै सुरक्षित रहन भनेको थियो।

चित्रकार रहनु भएका उहाँका पति पनि कोभिड प्रतिबन्धका कारण कामविहीन बन्नुभयो । “हालसालै मेरा श्रीमानले काम सुरु गर्ने प्रयास गरे। म उनका लागि खाना बनाउने भएँ,” उहाँले भन्नुभयो ।

“तर सेनाले उनलाई रोके र घर फर्कन भने। त्यसैले उनले काम गर्न पनि पाएनन्।” म वे र उहाँका श्रीमान सात महिनादेखि बेरोजगार हुनुहुन्छ। उहाँहरूका चार सन्तान र आमा खाद्य सहायतामा आश्रित छन्।

“कहिलेकाहीँ हामीलाई दिनमा एक छाक मात्रै खानेकुरा मिल्छ,” उहाँले भन्नुभयो। “हामीले यस्तो कठिनाइ कहिल्यै महसुस गरेका थिएनौँ।”

विश्व बैङ्कले यो आर्थिक वर्षमा म्यान्मारको अर्थतन्त्र १८ प्रतिशतले खुम्चिने र गरिबीको दर सन् २०२२ सम्ममा दोबरभन्दा बढी हुने जनाएको छ।

विश्व खाद्य कार्यक्रमका अनुसार चामलको मूल्य १८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ र विगत १२ महिनामा खाने तेलको मूल्य पनि दोबर भएको छ। बीबीसी

Facebook Comments