Sat. Jan 11th, 2025

पश्चिमा मुलुकको दाबी अस्वीकार गर्दै चीनले सार्वजनिक गर्‍यो युगुर मुस्लिमको संख्या

काठमाण्डौं, २०७८ असोज १२ गते मंगलबार । चीनले आइतबार सिन्च्याङ प्रान्तको जनसंख्याबारे एक श्वेत पत्र जारी गरेको छ । चीनको सातौं राष्ट्रिय जनगणनालाई उल्लेख गर्दै श्वेतपत्रमा यो क्षेत्रमा जातीय अल्पसंख्यकको जनसंख्या निकै बढेको उल्लेख गरिएको छ ।

सिन्च्याङ प्रान्तमा चीनले युगुर मुसलमानमाथि मानवअधिकारको उल्लङ्घन गर्दै आएको आरोप लाग्दै आएको छ । यो प्रान्तमा उसले एक डिटेन्सन क्याम्प स्थापना गरेको पश्चिमा मुलुकले दाबी गर्दै आएका छन् । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले भने यो श्वेतपत्रलाई उद्धृत गर्दै पश्चिमा मुलुकले लगाउँदै आएको ‘नरसंहार’ को आरोप अस्वीकार गरेको छ ।

उक्त श्वेतपत्रका अनुसार सन् १९५३ मा युगुर मुसलमानको संख्या ३६ लाख थियो । यो संख्या २०२० मा बढेर १ करोड १० लाख पुगेको छ । स्टेट काउन्सिल इन्फरमेसन अफिसले २०१५ पछि सिन्च्याङको जनसांख्यिकीय विकास पहिलोपटक सार्वजनिक गरेको हो । यसमा पछिल्लो सात दशकको आँकडा समावेश गरिएको छ ।

सिन्च्याङको कार्यालयबाट सार्वजनिक गरिएको यो १० औं श्वेतपत्र हो । यसअघिका श्वेतपत्र मानवाधिकार उपलब्धि, तालिम, शैक्षिक केन्द्र, रोजगार र आतंकवाद नियन्त्रणको उपायमा आधारित थियो ।

ग्लोबल टाइम्सले चीन विरोधी शक्तिलाई जवाफ दिन यो श्वेतपत्र जारी गरिएको बताएको छ । चीनलाई बदनाम गराउन पश्चिमा मुलुकले सिन्च्याङबारे नकरात्मकता प्रचार गरिरहेको चीनको आरोप छ । पश्चिमा मुलुकले युगुर मुसलमानमाथि चीनले ‘जनसंहार’ सम्मको आरोप लगाएका छन् ।

श्वेतपत्रमा उल्लेख गरिएअनुसार सन् २०२० मा सिन्च्याङको समग्र जनसंख्या २ करोड ५० लाख थियो । यसमध्ये हान जातीय समुदायको जनसंख्या एक करोड र जातीय अल्पसंख्यकहरुको जनसंख्या एक करोड ४० लाख थियो । सिन्च्याङमा १९५३ मा जातीय अल्पसंख्यकको संख्या ४४ लाख थियो ।

२१ शताब्दीभन्दा पहिलाको दुई दशकमा युगुर मुसलमानको जनसंख्या १.६७ प्रतिशतले बढेको थियो । सो अवधिमा चीनको कुल जातीय अल्पसंख्यकको जनसंख्या भने ०.८३ प्रतिशतले बढेको थियो ।

चीनको सिन्च्याङमा १० लाखभन्दा धेरै युगुर मुसलमानलाई हिरासतमा लिइएको बताइँदै आएको छ । सिन्च्याङ उत्तर-पश्चिमी चीनको एक ठूलो क्षेत्र हो, यहाँ टर्की मूलका मुसलमानको बसोबास छ । यो समुदायमाथि चीनले ज्यादती गरेको आरोप लाग्दै आएको छ ।

सिन्च्याङमा हिरासतमा लिइएका मानिसलाई ‘पुनः शिक्षा’ शिविरमा पठाइन्छ । यो एउटा जेलजस्तै हो । यहाँ विना कुनै कसुर अनिश्चितकालसम्म उनीहरुलाई राखिन्छ ।

यद्यपि धेरै मानिसलाई जेलको सजाय पनि दिइएको छ । २०१७ पछि यो संख्या उल्लेख्यरुपमा बढेको छ । हिरासतमा लिइएका वा अन्य आरोप लागेका मानिसको विवरण भने निकै कममात्र उपलब्ध छ । बीबीसीबाट

Facebook Comments