Sat. Oct 19th, 2024

बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो, काठमाडौमा आपतकालिन अवतरण (भिडियो सहित)

- क्याप्टेन शेर्पा भन्नुहुन्छ, 'मैले आशा मारेको थिईन'

काठमाण्डौं, २०७८ असोज ११ गते सोमबार । काठमाडौंबाट ७३ जना यात्रु लिएर विराटनगर उडेको बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । कल साईन 9N-ANI, उडान संख्या U701 को जहाज आज बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको थियो ।

विराटनगर पुगेपछि अवतरण गर्ने क्रममा जहाजको ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो । काठमाण्डौको आकाशमै झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रुपले अवतरण गरेको हो ।

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ(बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाउनु भएको थियो। जहाजमा ७३ जना यात्रु सवार थिए। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’

झण्डै दुईघण्टा आकाशमै घुमेको जहाज सकुशल अवतरण भएपछि पाइलट, यात्रु, बुद्ध एअरका कर्मचारीलगायत सबैले खुसी व्यक्त गरेका छन् ।

 

‘म डराएको भए जहाज बीचमै खस्थ्यो होला, तर मैले आशा मारेको थिइनँ’ -क्याप्टेन एजी शेर्पा

क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो। बुद्ध एयरको स्थापना कालदेखि नै उहाँ आवद्ध हुनुहुन्छ। अनुभवका हिसाबले उहाँ निकै खारिएका पाइलट हुनुहुन्छ। हरेक दिन, हरेक घण्टाको उडान उहाँलाई निकै सहज र सामान्य लाग्छ। पाइलटको लागि उडान भर्नु ठूलो कुरा पनि भएन। २४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौं यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउनु भयो। तर सोमबार उहाँले सोच्नु भएको थिएन होला कि जहाजमा रहेका ७७ जना यात्रुलाई मैले सकुसल एयरपोर्टमा अवतरण गराउँछु भनेर।

सोमबार विहानको घटना हो। विहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट चालक दलका सदस्यसहित ७७ जना यात्रु बोकेर उहाँ विराटनगरतर्फ उडान भर्दै हुनुहन्थ्यो। विराटनगर पुग्दै लाग्दा एयर ट्रफिक कन्ट्रोल रुममा अवतरण गर्ने जानकारी पनि गराउनु भयो उहाँले। जहाज अवतरण गर्ने बेला भएपछि उहाँले जहाजको चक्का डाउन गर्न खोज्नु भयो। तीनवटा चक्कामध्ये एउटा चक्का डाउन नै भएन।

जहाज अवतरण गर्नको लागि जहाजको इन्जिनले ग्रीन सिग्नल संकेत पनि दिएन। जसलाई थ्री ग्रीन सिग्नल भनिन्छ। तीनवटा सिग्लन ग्रीन देखिएमा मात्रै जहाज सामान्य अवतरण हुन्छ। नत्र जहाजको इन्जिन वा चक्कामा समस्या भएको भन्ने बुझिन्छ। पाइलट शेर्पाले उडान भरेको जहाजले निकै अशुभ संकेत दियो। ल्यान्डिङ गियर डाउन भएन। पाइलटहरुका अनुसार जहाजमा आउने यो समस्यालाई सामान्य मानिँदैन। उहाँले भन्नुभयो
, ‘मलाई त यति सहजै अवतरण गरिन्छ जस्तो लागेको थिएन, मैले धेरै नै सोचिसकेको थिएँ, तर विराटनगरबाट काठमाडौं एयरपोर्टमा आइपुग्दा जहाजले थ्री ग्रीन सिग्नल दियो, मैले पनि निकै ध्यान दिएको थिएँ।’

विराटनगरमा जहाज अवतरण गर्न सकिने अवस्था नभएपछि उहाँ काठमाडौं फर्किनुभयो। जहाजभित्र ७७ जना यात्रु थिए। एटिसी टावर र जहाजका इन्जिनियरहरुलाई क्याप्टेन टोलीले जहाजको अवस्थाबारे जानकारी गरायो। एटिसी टावरले काठमाडौंतिरै ‘मुभ’ हुन भन्यो। त्यस लगत्तै पाइलट शेर्पाले जहाजलाई काठमाडौंतर्फ फर्काउनु भएको थियो। उहाँले जहाजमा इन्धनको मात्रा धेरै भएकोले आकस्मिक वा संकटकालीन अवतरणलाई ध्यानमा राख्दै ‘फ्युल वर्न’ गरे। यसो गर्दा जहाजको तौल कम हुन्छ। जमिनमा बजारिएपनि ठूलो क्षति वा आगलागी हुनबाट बच्छ।

काठमाडौं विमानस्थल आइपुगेपछि पाइलट शेर्पाले नौ दश फन्को घुमाउनु भयो। केही बेर जहाजलाई आकाशमै होल्ड गर्नुभयो। त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुरबीन लगाएर हवाई इन्जिनियरहरुले जहाजको चक्का र इन्जिन जाँच गरे। पाइलटले एटिसी टावरसँग कुरा गर्दै जहाज घुमाइरहेका थिए। जाँच गर्दा जहाजमा खासै समस्या देखिएन। त्यसपछि एटिसी टावरले अवतरण गर्ने अनुमती दियो। पाइलट शेर्पाले ल्याण्डिङ गेअर ९डाउन गर्नुभयो० तल झार्नुभयो । अब चाही जहाजले थ्री ग्रीन सिग्नल दियो। चक्का आँफै डाउन भयो। त्यसपछि पाइलट शेर्पाले विहान १० बजेर १६ मिनेटमा जहाजलाई अवतरण गराउनु भयो। जहाजको टायरले भुइँ छोएपछि सबै यात्रुहरु झसंग भए। खुसीले तालि पिटे। झन्डै मृत्युको मुखमा पुगेका उनीहरुले अर्को जीवन पाए झै महसुस गरे। यो अनुभवन पाइलट शेर्पाले २४ वर्षसम्मको पाइलट जीवनमा नभोगेको अनुभव हो।

आजसम्म उहाँले सयौं उडान भर्नुभयो। ती सबै सामान्य नै रहे। तर आज विहानको उडान उहाँको पाइलट जीवनकै अविस्मरणीय क्षण बन्यो। ‘यात्रुहरु निकै डराइरहनु भएको थियो, तर म डराएको भए जहाज बीचमै खस्थ्यो होला, त्यो अवस्थामा म निकै सतर्क भएँ, सेकेण्ड सेकेण्डमा जहाज कतातिर मोडेको छु याद गरेँ, एयर होस्टेसहरु पनि हाई अलर्टमा रहेर मलाई साथ दिए,’ उहाँले सुनाउनु भयो, ‘अवस्था त निकै चुनौतिपूर्ण थियो, तर आशा मारेको थिइनँ।’ उहाँले यात्रुहरु चिच्याएको आवाज अगाडिसम्म सुनिएपनि त्यसले आफूलाई नबिथोलेको र आफू निकै एकाग्र भएर उडान भरेको बताउनु भयो।

क्याप्टेन एजी शेर्पा लगायतको टिमलाई हार्दिक अभिवादन ।

Facebook Comments