Wed. Sep 25th, 2024

भारतमा सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास

काठमाण्डौं, २०७८ असोज १० गते आईतबार । सन् १९५१ मा भारतको जनसङ्ख्या ३६ करोड १० लाख थियो भने सन् २०११ मा त्यो बढेर एक अर्ब २० करोडभन्दा बढी भयो। सन् १९५१ देखि स्वतन्त्र रूपमा जनगणना हुन थालेको भारतमा पछिल्लो पटक सन् २०११ मा जनगणना भएको थियो।

उक्त अध्ययनले सो अवधिमा भारतका सबै धर्मका अनुयायीको जनसङ्ख्यामा वृद्धि पाएको छ। हिन्दूको जनसङ्ख्या ३० करोड ४० लाखबाट बढेर ९६ करोड ६० लाख, मुस्लिमको जनसङ्ख्या तीन करोड ५० लाखबाट बढेर १७ करोड २० लाख र आफूलाई इसाई भनेर चिनाउने भारतीयको सङ्ख्या ८० लाखबाट बढेर दुई करोड ८० लाख पुगेको छ।

प्यू रिसर्च सेन्टरले गरेको एउटा अध्ययनमा भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको देखाएको छ।त्यसले गर्दा सन् १९५१ पछि त्यहाँको धार्मिक संरचनामा “सामान्य मात्र परिवर्तन” देखिएको छ।

भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग ओगटेका छन्। बाँकी ६ प्रतिशतमा इसाई, सिख, बौद्ध र जैन छन्।

भारतमा प्रत्येक दश वर्षमा हुने जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस) को तथ्याङ्कमा आधारित भएर प्यू रिसर्च सेन्टरको अध्ययनले देशको धार्मिक संरचना कसरी परिवर्तन भयो र त्यो परिवर्तनका पछाडिका मुख्य कारण के हुन् भनेर जाँच गरेको थियो।

औपनिवेशिक भारतको सन् १९४७ मा हिन्दूबहुल भारत र मुस्लिमबहुल पाकिस्तानमा विभाजन भएपछि जनसङ्ख्या तीन गुनाभन्दा बढी भएको छ। बीबीसी

Facebook Comments