Wed. Sep 25th, 2024

सोह्र श्राद्ध आजदेखि सुरु, पितृहरुको विशेष सम्झना र पूजा

काठमाण्डौं, २०७८ असोज ५ गते मंगलबार । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने चलन रहिआएको छ ।

यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने हिन्दु शास्त्रीयमा उल्लेख छ । सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व बोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नुअघि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित छन् ।

यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दुधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ ।

विहानै देखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ । अनि, श्राद्ध चलिरहँदा पण्डितले भने अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने चलन छ ।

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभाईले गर्नेगर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिने गर्दछन् । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिइएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा, भाञ्जी अनि चेलीबेटीको उपस्थिति वेगर श्राद्धकर्म पूर्ण हुनै सक्दैन भन्ने विश्वास छ । पुत्र अनि पुत्री पितृकालागि समान छन्, आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहि कतै भेदभाव गरेको देखिँदैन ।

पितृपक्षको कुरा गर्दा महाभारतको युद्धसँग जोडिएर आउँछ, महाभारतको युद्धमा मृत्युवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् ।

उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यस विषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातको रुपमा लिइएको छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ ।  पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भने पितृ लोकका राजा यम हुन् भन्ने मान्यता रहिआएको छ ।

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दसैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यो पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आआफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।

Facebook Comments