Wed. Sep 25th, 2024

छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने कार्य नगर्न गृहमन्त्रालयको आग्रह

काठमाण्डौं, २०७८ भदौं २० गते आईतबार । सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काट्दा महाकाली नदीमा खसेर जयसिंह धामीको ज्यान गएको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रदर्शन भइरहेका छन् । मोदीको विरोधलाई लक्षित गर्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा भएका उच्छृङ्खल र  निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने उल्लेख छ ।

यस्तै मित्रराष्ट्र र त्यहाँका प्रमुखविरुद्ध हुने गतिविधि नियन्त्रण गरिने र संलग्नलाई कारबाही गर्ने पनि गृह मन्त्रालयले चेतावनी दिएको छ । सरकारले सबै मित्रराष्ट्रसँगको पारस्परिक सम्बन्ध अझै प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्रका विरुद्ध गतिविधि हुन नदिन कटिबद्ध रहेको पनि जनाएको छ ।

Facebook Comments