Tue. Sep 24th, 2024

वामदेव गाैतमद्वारा पार्टीबाट राजीनामा, ओलीकै गलत प्रवृत्तिका कारण पार्टीमा रहिरहन नसकेको भनाई

काठमाण्डौं, २०७८ भदौं १८ गते शुक्रबार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।

गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनुभएको छ । गौतमले आज दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाउनुभएको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गर्नुभएको थियो । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली रवबरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताउनुभएको छ ।

राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभाको चुनाव २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको साझा घोषणा पत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

राजीनामा पत्रमा जनताको बहुदलीय जनवाद (जबज) र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई-दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ ।

‘आफ्ना समकक्षी कमरेडलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनजस्ता स्वेच्छाचारी तथा निरङ्कुश प्रवृत्ति र शैली अँगाल्नुभयो, त्यतिमात्र होइन राष्ट्रपति समेतलाई आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो’, राजीनामा पत्रमा उल्लेख छ । उज्यालो अनलाईन

Facebook Comments