मुख्यमन्त्री आचार्यको पद धरापमा, दश जना सांसद नेकपा एकीकृत समाजवादीमा प्रवेश
काठमाण्डौं, २०७८ भदौं १६ गते बुधबार । प्रदेश नम्वर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद धरापमा परेको छ । नेकपा एमालेका दश जना सांसद नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेसँगै मुख्य मन्त्री आचार्यको पद धरापमा परेको हो । प्राप्त समाचार अनुसार प्रदेश नम्वर १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नुभएको छ । माधबकुमार नेपाल समूहमा आवद्ध रहँदै आउनुभएका सांसदहरुले बुधबार दिउँसो प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भएर एमालेबाट बिभाजित भएर बनेको नेकपा(एकीकृत समाजवादी) रोज्नुभएको हो ।
प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यत्रय राजेन्द्रकुमार राई, गणेश काङ्माङ, कृष्णकुमारी राई, प्रदेशसभा सदस्यहरु राजन राई, उपेन्द्र घिमिरे, सरिता थापा, खिनु लङ्वा लिम्बु, पदमकुमारी गुरुङ, सावित्राकुमारी रेग्मी, र सुनिता चौधरीले नयाँ पार्टीमा आवद्ध हुन चाहेको भन्दै सनाखत गर्नुभयो ।
नयाँ पार्टीमा अवद्ध भएको भन्दै निर्वाचन कार्यालयमा सनाखत गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले एमाले नेता भीम आचार्यको नेतृत्वमा बनेको प्रदेश सरकारले बहुमत पुष्टि गर्न नसक्ने बताउनुभयो । दल विभाजन भएको र बिभाजित दलसहित विपक्षी पार्टीहरु गठबन्धनमा रहेका कारण गठबन्धनको तर्फबाट छिट्टै नयाँ सरकार बन्ने नेता राईले बताउनुभयो ।
उहाँले बहुमत गुमाइसकेका कारण नैतिककाका आधारमा मुख्यमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुने बताउनुभयो । ‘उहाँहरुको सरकारले बहुमत गुमाएको छ त्यसैले आशा गरौं मुख्यमन्त्रीले पदबाट राजीनामा गर्नुहुनेछ,’ नेता राईले भन्नुभयो ‘हामी केही दिन हेछौं र २३ गतेपछि पनि राजीनामा गर्नुभएन भने गठबन्धनमा सल्लाह गरेर आगामी प्रक्रियामा अघि बढ्छौं ।’ सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने वाध्यकारी व्यवस्था भएको हुँदा त्यति समय पर्खन पनि गाह्रो नभएको उहाँले बताउनुभयो ।