Tue. Sep 24th, 2024

तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार । तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने हुनुभएको छ। बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो ।

उहाँ एक धार्मिक नेताका रुपमा चिनिनुहुन्छ। उहाँ सन् २०१६ मा अफगानी तालिबानको प्रमुख बन्नुभएको थियो । तालिबानले अफगानिस्तानको सत्ता हत्याउन सफल हुनुमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनाको विरोध गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । उहाँको छवि एक सैन्य कमान्डरका रुपमा भन्दा पनि धार्मिक नेताका रुपमा रहेको बीबीसीले जनाएको छ ।

हिब्तुल्लाह सार्वजनिक हुने भएपछि त्यसको तयारीका लागि तालिबानको राजनीतिक विभाग प्रमुख मुल्ला अब्दुल गनी बरादर पनि काबुलबाट कन्दहार फर्किनुभएको छ। सन् १९९४ मा तालिबान गठन गर्ने चार नेतामध्ये बरादर पनि एक हुनुहुन्छ । गत अगस्टमा राजधानी काबुलमाथि कब्जा गरेसँगै निर्वासनमा रहेका बरादरलगायतका तालिबानी नेता अफगानिस्तान फर्किनुभएको हो ।

यसैबीच तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनका लागि वार्ता भइरहेको र छिट्टै त्यसको घोषणा हुने बताउनुभएको छ। मुल्ला हिब्तुल्लाह सार्वजनिक हुने खबरसँगै उहाँको भूमिका के हुन्छ भन्ने विषयमा सबैको चासो बढेको छ । एजेन्सी

Facebook Comments