Thu. Apr 18th, 2024

सिन्धुपाल्चोक बस दुर्घटनामा परी १२ को मृत्यु

मेलम्ची, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको वा २ ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा पचास जनाभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताऐ ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुन सक्ने देखिन्छ । दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातायातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल बस दुर्घटनास्थलमा पुगेका छन । हेलिकप्टर लिएर घटनास्थल आइपुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए ।

दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेमा काभ्रेपलाञ्चोक घर भएका केदारनाथ महाजु, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाकी सङ्गीता पुर्कोटी, इन्द्रावती–९ का हीरा श्रेष्ठ र विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।

Facebook Comments