Tue. Sep 24th, 2024

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा धेरैको मृत्यु

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भयो ।

“हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,” उहाँले भन्नुभयो। उहाँले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गर्नुभयो ।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।

बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भन्नुभयो, “हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ”

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।

त्यसको केही समयपछि गोली चलेको आवाज आयो।

केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो।

अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो।

उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ।

राष्ट्रपति बाइडनले भन्नुभयो, “हामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ।”

विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ। हमला हुनसक्ने भन्दै क्याaनडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो। बीबीसी

Facebook Comments