Tue. Sep 24th, 2024

‘सरकारी कर्मचारीलाई आममाफी’ दिने तालिबानको भनाइ

- अफगानिस्तान द्वन्द्वः

काठमाण्डौं, २०७८ भदौं १ गते मंगलबार । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफी दिएको बताउँदै उनीहरूलाई ”पूर्ण विश्वासका साथ” काममा फर्कन आग्रह गरेको छ।

”सबैका लागि आम माफी घोषणा गरिएको छ … त्यसकारण तपाईँ पूर्ण रूपमा विश्वस्त भएर आफ्नो नियमित दिनचर्यामा फर्कनुपर्छ,” समाचार संस्था एएफपीले तालिबानको विज्ञप्तिलाई उद्धृत गरेको छ।

तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको छ। सरकारी कर्मचारी, पश्चिमा राष्ट्रको संलग्नता रहेका संस्था र अमेरिकी सेनाका लागि दोभासेका रूपमा काम गरेकाहरू तालिबानले बदला लिन सक्ने सम्भावनाका कारण त्रसित छन्।

तालिबान उसले दिने क्रूर सजायका लागि परिचित छ। युद्ध अपराध गरेको आरोप लगाइएको भए पनि उसले त्यो आरोप अस्वीकार गर्दै आएको छ।

अस्तव्यस्त काबुल विमानस्थल पुनखुला

सैन्य विमानहरूले काबुलस्थित विमानस्थलबाट त्यहाँ रहेका कूटनीतिज्ञ र सर्वसाधारणहरूलाई अन्यत्रै लान पुनः सुरु गरेका छन्। सोमवार उक्त विमानस्थल अस्तव्यस्त देखिएको थियो।

देश छोड्न व्यग्र दशौँ हजार अफगानहरू धावन मार्गसम्मै पुगेको र उडान भर्न लागेका विमान चढ्ने प्रयास गरेको तस्बिरहरू सार्वजनिक भएका थिए।

त्यो क्रममा पाँच जनाको मृत्यु भएको बताइएको छ। उनीहरूको मृत्यु गोली लागेर भएको हो वा भाग दौडमा च्यापिएर भन्ने कुरा भने स्पष्ट छैन।

अधिकारीहरूका अनुसार मंगलवार भने तुलनात्मक रूपमा अवस्था निकै शान्त छ। ”हिजो यहाँ आएका अधिकांश मानिसहरू घर फर्किएका छन्,” एक जना पश्चिमा राष्ट्रका सुरक्षा अधिकारीले समाचार संस्था रोयटर्सलाई भने।

तालिबानले नियन्त्रणमा लिएको तेस्रो दिन लडाकुहरूको व्यापक उपस्थिति रहे पनि राजधानी काबुलका सडकहरू शान्त देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बीबीसी

Facebook Comments