Sat. May 18th, 2024

कोविड-१९ महामारी र यसमाथिको राजनीतिकरण

                                                            काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । 

डा. हरिश्चन्द्र शाह

कोविड-१९को महामारी निरन्तर रुपमा संसारभरी अत्यधिक त्रास लिएर आएको छ । समस्त रुपमा संसारका प्राय सबै देशमा यसको अवस्था र परिस्थिती अत्यन्त गम्भीर र चिन्ताजनक छ भन्दा फरक पर्दैन । कोविड-१९अहिले संसारभरी भयावह रुपमा फैलिएको छ । कुनै कुनै मुलुकमा कोभिडको दोस्रो, तेस्रो र चौथो लहर उत्पत्ति भएकोे खबर पनि आएको छ । मानव जातीको लागि अनि प्रत्येक मूलुकको लागि यो शताब्दीकै ठूलो चुनौती र बिकराल समस्या भएको छ कोभिड-१९ । समग्रमा भन्नु पर्दा कोभिड-१९ले विश्वको कुनै पनि भूभाग अछुतो छैन ।

कोरोना भाईरस २०१९ देखी संसारभरी देखिएको छ । चीनले त्यसवेलै संसारलाई सबभन्दा पहिले यो रोग र यस रोगबाट हुनसक्ने प्रभावबारे बताउंदै आएको थियो । त्यत्तिमात्र होईन यो महामारी फैलन नदिन र यसको नियन्त्रणको लागि भैरहेका प्रयासहरुबारेमा चीनले विश्वलाई समेत जानकारी दिईरहेको थियो । तर दूर्भाग्य केही देशले चीनले यसरी उपलब्ध गराएको सूूचना र जानकारीलाई सकारात्मक भन्दा पनि नकारात्मक रुपमा लिँदै निर्दोष चीनलाई दोषी देखाउने प्रयास मात्र गरिरहेका छैनन बरु कोरोना भाईरसको उत्पत्तिको मनगढन्त कुुरो बनाएर महामारीको रुपमा लाखौं मानिसहरुको ज्यान लिईसकेको यस रोगमाथि चर्को रुपमा राजनीति गरिरहेका छन् । मानवताविरुद्ध बोलिदै र गरिन्दै आएका यस्ता गतिविधीहरु के न्यायसंगत छन् त ? पक्कै छैनन । महामारीलाई राजनीतिक रङ भर्ने यस्ता गतिविधीहरु निश्चय नै दूर्भाग्यपूर्ण हुन् ।

चीनमाथिको आरोपलाई न्याय र मानवताको तराजुमा तौलिने हो भने यो अन्याय र अमानविय समेत छ । चीनमाथिको यस्तो आरोपको अर्थ यो भयो की जसले पहिला खबर गर्छ वा सुचना दिन्छ उही नै त्यस्को भागीदारी वा जवाफदेहि हुन्छ ? यदि यस्तो अवस्थाले निरन्तरता पाउने हो भने भविष्यमा फेरी कुनै महामारी फैलियो र त्यो कोरोना महामारी भन्दा अझ खतरनाक भयो भने कसैले पनि त्यस विषयमा बोल्ने वा सूचना दिने हिम्मत गर्दैन । जुन सिंगो मानव समुदायको लागि अति घातक हुन सक्छ । प्राकृतिक प्रकोप र महामारी विश्वका जुन सुकै क्षेत्रमा जति वेला पनि उत्पत्ति भएर फैलन सक्छन् । यिनीहरुलाई राजनीतिक भूगोलमा बाँधेर राख्न सकिन्न । न यस्ता कुराहरु कसैले चाहना गर्दैमा प्राप्त हुने न नचाहँदैमा हराउने हुुन् । त्यसैले कुनै स्थान विशेषमा महामारी देखियो भन्ने वित्तिकै त्यो महामारी त्यही उत्पन्न भयो भनेर ठोकुवासँग भन्न सकिन्न । अर्को अहं कुरो के हो भने विज्ञान र प्रविधिको उच्चतम विकासले विश्वलाई एउटा गाउँमा सिमित गरिदिएको अवस्थामा विश्वको कुनै पनि एक स्थानको कुनै पनि कुरो सजिलै अर्को कुनासम्म फैलन सक्छ । त्यसैले समान्य आँखाले हेर्दा पनि सूचना वा जानकारी दिएकै आधारमा चीनमाथि महामारी लुकाएको भन्ने जस्ता आरोप लगाउनु उचित देखिन्न ।

आजको आवश्यकता भनेकोे सारा संसार एक भएर महामारी नियन्त्रण गर्नु हो । एक देशमा उत्पादन भएको महामारी विरुद्धको खोप अर्को देशमा सहयोग स्वरुप उपलब्ध गराउनु हो । नकी सूचना दिनेमाथि नै आरोप वा वाण वर्षाउनु । विगतमा देखिएको प्लेग रोगको बारेमा समयमै जानकारी दिईएको भए त्यसबारे अत्यन्त कम मात्र मानविय जोखिम हुुन सक्थ्यो तर सो रोगको बारेमा जानकारी गराउने हिम्मत कसैले गरेन । त्यसैले ठूलो मानविय क्षति भयो । यस अर्थमा चीनले महामारीको विषयमा समयमै जानकारी दिएर विश्वलाई गुण लगाएको छ । हामीले यस गुणको साटो चीनलाई धन्यवाद दिन ढिलो गर्नुहुन्न र उसले महामारी नियन्त्रणको लागि गरेका प्रयासहरुलाई समर्थन दिनुपर्छ ।

चीनले महामारीको नियन्त्रणको लागि सुरु गरेको लकडाउन, क्वारेन्टिन, मास्क, पञ्जा, स्वास्थ्यकर्मीहरुको लागि सुरक्षा पोशाक जे जस्तो उपायहरु अवलम्बन गरेको छ त्यसको सिखो हामी अन्य देशले पनि गरेको हुनाले अझ ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । चीनले यस अर्थमा विश्वकै मानव समुदायलाई कहिल्यै तिर्न नसक्ने क्रण लगाएको छ । त्यसैले महामारी विरुद्धको लडाईलाई निचोडमा पुर्याउने यो समयमा अन्य विषयमा अल्झिनु हाम्रै हित विरुद्ध छ भन्दा अत्युक्ति नहोला ।

यत्तिवेला प्रत्येक देशका राजनीतिक दलहरु, सरकारी तथा गैह् सरकारी संघ संस्थाहरु, विभिन्न प्रतिष्ठानहरु, सरकार र आम मानव समुदाय एकजुट भएर महमारीलाई नियन्त्रण गर्दै मुलुकको विकासको गतिलाई पुरानै अवस्थामा फर्काउन र विश्व शान्तिलाई अझ दरिलो बनाउनु आवश्यक छ । मानव समुदायलाई अहिले द्वन्द होइन खोप र मानविय सहायता अनि शान्तिपूर्ण विश्वको खाँचो छ, जहाँ प्रत्येक मानिसहरुको भाग्य फल्न र फूल्न सक्छ ।

आधुनिक बिज्ञान एउटा यस्तो शक्ति हो जसले भाईरसलाई परास्त गर्न र रोगहरुलाई निमूल पार्न सक्छ भनि विश्वास गर्न सकिन्छ । कोरोना भाईरस एउटा नयाँ प्रजातीको भाईरस हो जुन अझै मानवको लागि अज्ञात छ । यसको उत्पत्ति एउटा गम्भीर बैज्ञानीक मुद्दा हो । यसलाई विश्वका बैज्ञानीकहरु, चिकित्सा विशेषज्ञहरूद्वारा सहयोगको माध्यमबाट अध्ययन गरिनु पर्दछ साथै संयुक्त अध्ययन पश्चात बैज्ञानीक प्रमाणको आधारमा एउटा तथ्य वा निष्कर्षमा पुग्न सकिन्छ । महामारीको मूल उत्पत्तिबारे अध्ययन गर्नु सबै देशहरुको साझा दायित्व हो ।

त्यसैले अन्तराष्ट्रिय सहयोग, भातृत्व, एकता र विश्वशान्तिलाई खलल पर्न नदिई भाइरस उत्पत्तिको बारेमा खोजी गर्नु आजको आवश्यकता हो तर त्यस विषयलाई राजनीति गर्ने साधन बनाउनु चाँही असान्दर्भिक पक्ष हो ।

त्यसैले आउँनुहोस् हातमा हात मिलाउँदै, काँधमा काँध मिलाउदै हामी महामारीको नियन्त्रणका लागि एकजुट होऔं । कोरोना भाइरसको प्रभावबाट धरासायी भएको हाम्रो परिवार, हाम्रो समाज, हाम्रो देश र सारा विश्वलाई नयाँ उर्जा प्रदान गर्न सहयोगका हातहरु बढाऔं । विश्वलाई महामारीबाट मुक्त गरौं ।

(डा.हरिश्चन्द्र शाह नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हुनुहुुन्छ ।)

Facebook Comments