Tue. Sep 24th, 2024

अध्यक्ष ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकता होस् भन्ने पक्ष छु : माधवकुमार नेपाल

काठमाण्डौं, २०७८ साउन २३ गते शनिबार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको  केन्द्रीय कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा एमाले नेता नेपालले पार्टी एकतामा नै जोड दिनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठक सुरु हुनु अगाडि नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति नै गाली गरेपनि आफू पार्टी एकता होस् भन्ने पक्षमा नै रहेको जानकारी गराउनु भएकाे बताउनुभयो ।

नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा मुख्यतः चार प्रस्तावमा छलफल भएको छ । केन्द्रीय कमिटीको बैठकमा सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुर्नस्थापनाको निर्णयलाई स्वागत गरिएको पन्तले बताउनुभयो । यसैगरी पार्टी एकताका लागि दश बुँदे सहमति पत्र तयार एवम् भेटवार्ताहरु निरन्तर भइरहेको अवस्थामा पार्टीका नेताहरुमाथि गरिएका विभिन्न टिकाटिप्पणी र लाञ्छना लाउने काम दुखद रहेको निष्कर्ष बैठकले निकालेको र विचार व्यक्त गर्दा पार्टीपंक्तिलाई जिम्मेवार एवम् संवेदनशील हुन पनि नेता नेपालले आग्ह गर्नुभएको पन्तले बताउनुभयो ।

एमाले एकताका लागि दश बुँदे सहमति पत्र तयार भइसकेको अवस्थामा नै एमाले संस्थापन पक्षले पार्टीको सदस्यता नवीकरण, पुर्नगठन लगायतका सांगठनिक कामहरु अघि बढाएकोप्रति नेपाल पक्षले गम्भीर ध्यानार्षण गराएको छ । सदस्यता नवीकरण लगायत सांगठनिक कार्यहरु तत्काल रोक्न पनि नेपाल पक्षले आग्रह गरेको नेता पन्तले बताउनुभयो ।

समग्रमा बैठकमा उत्साह र मनोबललाई कायम राख्दै पार्टी एकताबद्धमा नै जोड दिइने विषयमा छलफल भएको नेता पन्तले जानकारी दिनुभएको छ । नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकका निर्णयहरुबारे जानकारी गराउनुहुदै उहाँले बैठकमा सरकारमा जाने भने कुनै छलफल नै नभएको समेत बताउनुभएको छ ।बैठकमा ३५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागीता रहेको थियो । गोरखापत्र अनलाईन

Facebook Comments