Fri. Sep 20th, 2024

इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीलाई परमाणु सम्झौताबारे वार्तामा फर्कन अमेरिकाको आग्रह

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ। बिहीवार पद सम्हाल्नु भएका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएका छन्। सन् २०१८ मा त्यस बेलाका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरू पुन: लगाएपछि दुई देशबीच तनाव बढेको थियो।

इब्राहिम रइसीले इरानको राष्ट्रपतिका रूपमा बिहीवार शपथग्रहण गर्नुभएको छ । तेहरानमा शपथग्रहण समारोहमा बोल्दै उहाँले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने “कुनै पनि कूटनीतिक योजनाूलाई आफूले समर्थन गर्ने बताउनु” भयो।

“‘अमेरिकाद्वारा इरानी राज्यमाथि लगाइएका सबै अवैध प्रतिबन्धहरू हट्नै पर्नेछ, ” उहाँले भन्नुभयो।

पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउँछन् तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, यूके, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौता अनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा उसले आफ्ना केही परमाणु कार्यक्रमलाई रोकेको थियो।

तर ट्रम्पले उक्त सम्झौताबाट हात झिकेपछि उसले पुनस् परमाणु कार्यक्रमलाई निरन्तरता दिएको छ। बीबीसी

Facebook Comments