Sat. Jul 27th, 2024

चिसोले बालबालिका, बृद्धबृद्धा र सुत्केरी महिला बढी प्रभावित

राजविराज, २०७६ पुष ५ गते शनिबार ।

पश्चिमी चिसो हावा र बाक्लो हुस्सुले सप्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । पछिल्लो एकसातादेखि दिनानु दिन बढ्दै गएको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

गत मंगलबारदेखि नै चलेको पश्चिमी चिसो हावा अझै रोकिएको छैन । भने घाम पनि नलागेको कारण चिसो झन् बढेको हो । बिहानदेखि बेलुकासम्म एकैनासको हावा चल्ने गरेको छ । यसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी सर्लाही लगायत तराईको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ ।

चिसो बढेपछि बजारमा मानिसहरुको चहलपहल पातलिएको छ । व्यापार व्यवसाय, कृषि कार्य पनि प्रभावित भएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरले काम पाउन नसकेर रित्तै घर फर्किने गरेको मजदुर सोमनाथ यादवले बताउनुभयो । कामको खोजीमा एकाबिहानै राजविराजको गजेन्द्र चोकमा भेला हुने अधिकांश मजदुरले काम नपाउँदा घर फर्किने गरेको उहाँले बताउनुभयो ।

चिसोले बालबालिका, बृद्धबृद्धा, सुत्केरी महिला बढी प्रभावित छन । उनीहरुमा ज्वरो, कोल्ड डायरिया र रुघाखोकीले च्यापिरहेको छ । त्यस्तै गाईवस्तु पनि चिसोले थरथर काम्ने गरेको छ । गाईवस्तु पालक किसानले घरको पुरानो कपडा, बोरा तथा डसना ओढाएर गाई, भैसी, बाख्रा, बाख्री, कुकुर, बाछाबाछी, रागालाई चिसोबाट जोगाउने प्रयास गरिरहेको देखिन्छ ।

चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन यहाँका स्वास्थ्य संस्थाहरुले आग्रह गरेका छन् । घरमा आफ्नै घरवरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरेको छ ।

यता विभिन्न संघसंस्थाहरुले चिसोले जनजीवन कष्टकर बनेपछि गरीब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा ध्यान दिन आग्रह गरेका छन् ।

पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा बढ्दो जाडोले बढी प्रभावित हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । चिसो बढेपछि काठ, कागज तथ परालको घुर ताप्ने क्रम बढेको छ । ग्रामिण भेगका बृद्धबृद्धाहरुले घुर नजिकै आगो तापेर खानाखाने र सुत्ने गरेको बताइएको छ । परालको ओछ्यान, डसना न्यानो हुने भएकोले ग्रामिण बृद्धबृद्धाहरुको लागि न्यानोको सहारा पराल नै बनेको छ । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments