Mon. Sep 23rd, 2024

अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस, मुख्य सहरमा भीषण लडाइँ

GETTY IMAGES

काठमाण्डौं, २०७८ साउन १९ गते मंगलबार । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ।

अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ।

उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ। ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएका छन्।

“यहाँ जताततै लडाइँ भइरहेको छ,” त्यहाँको अस्पतालमा रहेका एकजना चिकित्सकले बीबीसीलाई भने। विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ।

बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू-भागहरू कब्जा गरिरहेको छ।

हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो। उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ।

यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ।

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको छ। त्यहाँको विमानस्थलमा आइतवार रकेट हमला भएको थियो।

कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ। त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ। बीबीसी

Facebook Comments