Tue. Sep 24th, 2024

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो

- काँग्रेस पदाधिकारी बैठक सम्पन्न

काठमाण्डौं, २०७८ साउन १२ गते मंगलबार । नेपाली काँग्रेसको मंगलबार बिहान प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता सम्बन्धमा प्रतिवेदन बुझाएको काँग्रसका पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसको आसन्न चौधौं महाधिवेशनको मिति सर्ने भन्नेबारे छलफल भए पनि मिति तय नभएको पौडेलले बताउनुभएको छ ।

रमेश लेखकको संयोजकत्वमा गठित केन्द्रीय क्रियाशील सदस्य छानबिन समितिले क्रियाशील सदस्यता सम्बन्धमा बुझाएको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताहरुलाइ बुझाएको पौडेलले बताउनुभएको छ ।

बैठकमा  पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय बिमलेन्द्र निधि, विजयकुमार गच्छेदार, महामन्त्रहिरु डा.शशांक कोइराला, पूर्णबहादुर खड्का लगायतका १८/ २० जना नेताहरुको सहभागिता थियो ।

काँग्रेसले चौधौं महाधिवेशनको प्रायोजनका लागि देशभरबाट आठ लाख ५२ हजार सात सय एघार जनालाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये चार लाख नौ हजार ३३ सदस्यको क्रियाशील सदस्यताको नवीकरण गरिएको र चार लाख ४३ हजार छ सय अठहत्तर जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । गोरखापत्र अनलाईन
 

Facebook Comments