Fri. Apr 19th, 2024

साढे १३ लाख पर्यटक लुम्बिनीमा

काठमाडौं, २०७६ पुष १ गते मंगलबार ।

प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको नागरिक अनलाइनले लेखेको छ।

गत वर्ष यही अवधिसम्म तेस्रो मुलुकका एक लाख ५१ हजार सात सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ७६ हजार ६ सय ४४ गरी जम्मा १३ लाख ५६ हजार नौ सय ९३ पर्यटकले लुम्बिनी भ्रमण गरेको भए पनि यस वर्ष दुई तहका सरकारका अभियान भए पनि हालसम्म १३ लाख ८१ हजार आठ सय ६९ पर्यटक यस वर्षको नोभेम्बरसम्म लुम्बिनी आएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकको संख्या गत वर्षको तुलनामा खासै बढ्न सकेको छैन। लुम्बिनी भ्रमणमा आएका पर्यटकको बसाइँ अवधि लम्ब्याउन नसकिरहेको अवस्थामा पर्यटक आउने क्रम पनि त्यति उत्साहजनक देखिएको छैन।

गत वर्षको तुलनामा यो वर्षको ११ महिनामा जम्मा २४ हजार आठ सय ७६ पर्यटक बढी आएका हुन्। यो संख्या गत वर्षको सोही अवधिमा तुलनामा थोरैले बढी हो। गत वर्षभन्दा कम्तीमा २५ प्रतिशत पर्यटक वृद्धि हुने अनुमान भए पनि पर्यटक बढ्न नसकेको लुम्बिनी होटल एसोसियसनका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो।

भैरहवादेखि लुम्बिनी पुग्ने सडकमार्ग स्तरोन्नतिकै क्रममा रहेकाले असहज यात्राका कारण पर्यटक बढ्न नसकेको हो। त्यसै गरी प्रचारप्रसारको कमि, पर्यटकलाई पर्यटन प्याकेजजस्ता कार्यक्रम नहुँदा पर्यटक चाहे अनुसार बढ्न सकेनन्।

सरकारले राम्रोसँग प्रचारप्रसार गर्न नसक्नु, विदेशमा हुने पर्यटन प्रवद्र्धन गर्ने प्रचार सामग्रीमा लुम्बिनीको मायादेवी मन्दिर नराखिनु, भारतमा प्रचारप्रसार नहुनुजस्ता कारणले पर्यटक बढ्न नसकेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउनुहुन्छ।

भारतमा सरकारले भन्दा निजी क्षेत्रले आफै प्रवद्र्धन गरिरहेका छन्। बोधगयामा डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट कार्यक्रममा लुम्बिनी प्रवद्र्धन तथा प्रचार गर्न ३० जनाको टोली गएर आएको श्रेष्ठले बताए। भारतमा बढी भन्दा बढी प्रचार गर्न जरुरी छ होइन भने भ्रमण वर्ष २०२० मा पनि अपेक्षा अनुसार पर्यटक बढ्न नसक्ने उहाँको भनाइ छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५ ले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर मनाइरहेको छ। लुम्बिनीबाट विश्व शान्तिको सन्देश फैलाउने तथा आन्तरिक पर्यटकको संख्या बढाउने उद्देश्यले बुद्ध पूर्णिमाका दिन जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक उद्घाटन भए पनि खर्च अनुसारको उपलब्धि भएको देखिँदैन। भ्रमण वर्षबाट लुम्बिनीमा वार्षिक २० लाख पर्यटक आउने र नेपाल भ्रमण वर्षलाई समेत सघाउने अपेक्षा गरिए पनि सार्थकता भने देखिएको छैन।

सबैभन्दा बढी लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमध्ये श्रीलंकाका बढी छन्। श्रीलंकाबाहेक थाइल्यान्ड, म्यानमार, चीनका पर्यटक पनि लुम्बिनी भ्रमणका लागि बढी आउने सूचीमा पर्छन्। लुम्बिनी विकास कोषको सूचना शाखाले दिएको तथ्यांकअनुसार यस वर्षको नोभेम्बरसम्म एक सय १३ देशका एक लाख ५५ हजार पाँच सय २३ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। यसरी भ्रमण गर्ने पर्यटकमा ४६ हजार नौ सय ७७ श्रीलंकाली, २६ हजार तीन सय १६ म्यानमार, २३ हजार सात सय चार थाइल्यान्ड, १८ हजार ६ सय ६८ चीनका र भियतनामका सात हजार चार सय १७ पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ। विगतका वर्षभन्दा यो वर्ष विदेशी मुलुकको भ्रमण गर्ने संख्या बढेको छ। जिम्बाम्बे, ताजकिस्तान, सुडान, पपुवा न्युगिनी, लेबनान, बु्रनाई, अलबानिया, बहराइन र लिबियाका एक–एक पर्यटक लुम्बिनी आएको तथ्यांकमा उल्लेख छ।

सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९६ जना तेस्रो देशका पर्यटकले लुम्बिनी भ्रमण गरेकामा सन्् २०१८ मा यो संख्या बढेर एक लाख ६९ हजार नौ सय चार पुगे पनि यस वर्षको नोभेम्बरसम्म एक लाख ५५ हजार पाँच सय २३ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनीको भ्रमण गरे। यसैगरी सन्् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ भारतीयले लुम्बिनीको भ्रमण गरेकामा सन् २०१८ मा यो संख्या बढेर एक लाख ९३ हजार ६ सय ३५ भए पनि यस वर्षको नोभेम्बरसम्म एक लाख ७६ हजार ६ सय ४४ भारतीयले लुम्बिनी भ्रमण गरे।

यस्तै लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०१७ मा १२ लाख ५१ हजार तीन सय ४६ नेपालीले लुम्बिनी भ्रमण गरेकामा सन् २०१८ मा ११ लाख ७० हजार पाँच सय ७१ जनाले भ्रमण गरेकामा यस वर्ष नोभेम्बरसम्म १० लाख ४९ हजार सात सय दुई नेपालीले भ्रमण गरे। यसअघि नेपाली पर्यटकको तथ्यांक राख्ने प्रणाली नमिलेको हुँदा संख्यामा कमि देखिए पनि यस वर्षदेखि लागू भएको इ–टिकेटिङले पनि रुपन्देही, नवलपरासी र कपिलवस्तुका पर्यटकको टिकट अनिवार्य नगरेकाले तीनै जिल्लाको विवरण तथ्यांकमा नदेखिएको विकास कोषले जनाएको छ।

Facebook Comments