Thu. Nov 14th, 2024

आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आयोजित

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा ‘आदिकविको व्यक्तित्व र कृतित्व विषयक प्रवचन तथा रचना वाचन कार्यक्रम’ आयोजना गरियो ।

प्रत्यक्ष र भर्चुअल माध्यमबाट समेत आयोजित कार्यक्रमको कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । त्यस अघि प्रज्ञा भवनको पश्चिमपट्टि रहेको बगैँचामा अवस्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यर्पण गरी आदिकविप्रति श्रद्धा-सम्मान अर्पण गरिएको थियो । कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आदिकविको प्रतिमामा माल्यर्पण गर्नुभएको थियो । उक्त अवसरमा प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी मालीले आदिकविको प्रतिमामा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै समारोहका सभाध्यक्ष कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिका नायक आदिकवि भानुभक्त आचार्यको जन्मयजन्तीको यो दिन नेपाली वाङ्मय क्षेत्रका चिन्तक र स्रष्टाका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको पहिचानका लागि पृष्ठभूमि तयार पार्ने काम भानुभक्तले गरेकाले उहाँको योगदान विशिष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- “भानु जयन्तीका अवसरमा विभिन्न मुलुकमा रहेका अभियन्तालाई भेला गरेर राष्ट्रिय सम्मेलन गर्ने सोच कोभिडका कारण सफल हुन सकेन तर भानुकै सम्झनामा गत वर्षदेखि ‘प्रज्ञा भानु अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ स्थापना गरिएको छ । यसबाट नेपालबाहिर रहेर नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा साधनारत स्रष्टाहरूको योगदानको कदर हुने विश्वास लिएको छु ।”

उपकुलपति डा. जगमान गुरुङले नेपाली जातिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्तले गरेको बताउनुभयो । उहाँले भन्नुभयो- “भानुभक्तले रामायण रचना नगरे पनि नेपाली भाषामा भावानुवाद गरेर नेपाली गाउँघर, खोलानाला, चौतारी, भञ्याङमा भानुभक्तीय रामायणका श्लोक गुनगुनाउँदै हिँड्ने वातावरणको सिर्जना गर्नुभयो । विश्वमा जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ आदिकवि भानुभक्तको श्लोक गुञ्जिन्छन् । नेपाली भाषा, धर्म, संस्कृति र चलनचल्तीका बारेमा छलफल गर्ने पर्वका रूपमा पनि भानु जयन्तीलाई लिन सकिन्छ ।”

सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले नेपाल देशको भौगोलिक एकीकरण गर्ने पृथ्वीनारायण शाह जस्तै नेपाली भाषालाई एकीकृत गर्ने काम भानुभक्तले गरेकाले उहाँलाई नेपाली जातिको एकीकरणका नायक मान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “हुन त १४औँ/१५औँ शताब्दीमा पनि कवि र तिनका कविताहरू सशक्त नभएका होइनन् । कविताको इतिहास अध्ययनमा त्यहाँसम्म पुग्नसक्नु पर्छ तर समालोचकले निरुपण गरे अनुसार कला, विचार, सन्देश र बोधगम्यताका दृष्टिले भानुभक्तले जत्तिको महाकाव्यस्तरको सशक्त रचना अरुले गर्न सकेका छैनन् । त्यही कवित्वपूर्ण रचना भानुभक्तबाटै प्रारम्भ भएकाले उहाँलाई आदिकवि मान्नुपर्छ भन्ने निष्कर्षका साथ आदिकवि मानिँदै आइएको हो ।” उपाध्यायले भानुका रचना नेपालीको मन-मर्मलाई बुझ्ने, राष्ट्रप्रेम, भातृत्व प्रेम, संस्कृति प्रेम र सामाजिक जनजीवनसँग मेल खाने खालको रहेको विचार व्यक्त गर्नुभयो । उहाँले वाल्मीकिको देशभक्तिको भावनालाई भानुभक्तले रामायणका माध्यामबाट नेपालीको मनमनमा पु¥याउने काम गरेको उल्लेख गर्दै भानुभक्तमा विश्वचेतना जागृत भएकाले नै विश्वतरको कविता रचना गर्न सक्षम भएको बताउनुभयो ।

साहित्य (पद्य\काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले ‘आदिकविको व्यक्तित्व र कृतित्व’ विषयमा बोल्दै भन्नुभयो- “वि.सं. १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदीरम्घामा जन्मिनुभएका आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिको एकतामा ठुलो योगदान गर्नुभएको छ । अध्यात्म रामायणबाट नेपालीमा अनुवादित रामायण उहाँको महत्वपूर्ण र चर्चित कृति हो ।” प्रा.डा. पौडेलले भन्नुभयो- “हुन त भानुभक्त अघि पनि कवि नभएका होइनन् । सुवानन्ददासबाट नेपाली कविताको प्रारम्भ भएको मानिन्छ । कतिपय कविले हिन्दी र तत्सम् शब्दलाई बढी प्रयोग गरेको परिस्थितिमा भानुभक्तले नेपाली भाषाभित्रैबाट कविताको सिर्जना गरेकैले आदिकविको रूपमा भानुभक्तले प्रसिद्धि पाएका हुन् । भानुले नेपाली भाषालाई समृद्ध बनाउन र जनजिब्रोमा पुर्याउने काम गर्नुभएको छ ।”

यसपाली भानु जयन्ती समारोह फरक रूपमा आयोजना गरियो । कोरोना भाइरस (कोभिड-१९) का कारण भर्चुअल माध्यामबाट सातै प्रदेश र विदेशमा रहेका साहित्यनुरागीबिच कार्यक्रम पुर्याईयो । आदिकवि भानुको सम्झनामा प्रज्ञा-प्रतिष्ठान, साहित्य (लोकवार्त र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालसहित अमेरिकाबाट सरु गुरागाई, म्यान्मारबाट हुताशन पाखरेल, भारतको सिक्किमबाट अभिषेक कोइरालाले भानुभक्तीय रचना वाचन गर्नुभएको थियो । यस्तै प्रदेश १ बाट दीपा भट्टराई, प्रदेश २ बाट सरु बस्नेत, बाग्मती प्रदेशबाट लोचन भट्टराई, गण्डकी प्रदेशबाट शिव त्रिपाठी, लुम्बिनी प्रदेशबाट टङ्क पन्थ, कणाली प्रदेशबाट सिर्जना शर्मा र सुदूरपश्चिमबाट कविराज भट्टले भानुभक्तीय रचना वाचन गर्नुभएको थियो ।

उक्त समारोहमा कुलपति उप्रेती, उपकुलपति डा. गुरुङ र सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा-प्रतिष्ठानमा २५ वर्ष सेवा अवधि पूरा गरेका पन्ध्र जना कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रज्ञा दीर्घ सेवा पदक प्राप्त गर्ने कर्मचारीहरूलाई असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सव समारोहमा जनही नगद तिस हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुने कर्मचारीहरूमा राजेन्द्रकुमारी शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाई, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगानी लामिछाने, मैया महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचिकार रहनुभएको छ ।

सो अवसरमा कुलपति उप्रेती र उपकुलपति डा. गुरुङले नेपाल प्रज्ञा-प्रतिष्ठानको इतिहासमा पहिलो पटक स्थापित पचास हजार राशिसहितको ‘नेपाल प्रज्ञा-प्रतिष्ठान उत्कृष्ट कर्मचारी पुरस्कार’ छापाखाना शाखामा कार्यरत कर्मचारी शेषराज देवकोटालाई प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले गर्नुभएको थियो ।

Facebook Comments