Sun. Apr 28th, 2024

नेकपा स्थायी कमिटी बैठकमा प्रतिवेदनमा थप परिमार्जन र सुधार गर्न सुझाव

काठमाडौं, २०७६ पुष १ गते मंगलबार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको तेस्रो दिन मंगलबार सदस्यहरूले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी राखेका थिए ।

सो कुरा बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अघि पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमाल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नु भएको थियो । आजको बैठकमा १३ जना सदस्य तथा आमन्त्रित सदस्यहरूले सुझाव र धारणा राख्नुभएको थियो ।

आजको बैठकमा धारणा राख्ने सदस्यहरूमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहनुभएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा राजनीतिक प्रतिवेदनमा प्रस्तुत भए बमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहनुभएको थियो ।

स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने जनाइएको छ । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments