Mon. Sep 23rd, 2024

आन्तरिक हवाई उडानमा वृद्धि, दैनिक ८३ वटा उडान

काठमाण्डौं, २०७८ असार २८ गते सोमबार । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कमभएसँगै सरकारले निषेधज्ञा खुकुलो बनाएपछि हवाई उडान वृद्धि भएको छ । त्रिभुवन विमानस्थलको तथ्याङक अनुसार दैनिक ८३ वटा आन्तरिक उडान हुने गरेको छ ।

विमानस्थलको तथ्याङकअनुसार आइतबार ८२ वटा आन्तरिक उडान भएका थिए । यी मध्ये आठ हजार ८७४ यात्रुले हवाई मार्गबाट यात्रा गरेका छन् । आइतबार मात्र चार हजार १९३ यात्रु काठमाडौंबाट बहिरिएका थिए भने चार हजार ६८१ जना यात्रु काठमाडौं प्रवेश गरेका थिए ।

कोभिड संक्रमणको दर कम भए पनि विमानस्थलले भने स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दै आएको विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीले जानकारी दिनुभयो । विमान सञ्चालक कम्पनी र यात्रुलाई समेत स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दे सुरक्षित हवाई उडान गराउँदै आएको उहाँले बताउनुभयो ।

असार २६ गते भने ८३ वटा आन्तरिक उडान हुँदा आठ हजार ९०५ जनाले यात्रा गरेका थिए । जसमा चार हजार ६४९ जनाले काठमाडौं भित्रिएका थिए भने चार हजार २५६ जना काठमाडौं बाहिरिएको विमानस्थलको तथ्याङकमा छ । विमानस्थलका अनुसार सोमबार १६ वटा अन्तराष्ट्रिय उडान तोकिएका छन् ।

Facebook Comments