Mon. Sep 23rd, 2024

प्रधानमन्त्री ओली भोली ५ बजे चीनका राष्ट्राध्यक्षसँग भर्चुवल बैठकमा सहभागी हुनुहुने

काठमाडौं, २०७८ असार २१ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग भोली मंगलबार अपरान्ह भर्चुवल बैठकमा सहभागी हुनुहुने कार्यक्रम तय भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एक सय वर्षगाँठ पुगेको अवसरमा हुन गइरहेको छलफलमा नेपालबाट प्रधानमन्त्री ओलीको सहभागिता रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरुसँग भोलि अपरान्ह ५ बजेतिर छलफल गर्न लाग्नुभएको बताइएको छ । प्रधानमन्त्री ओलीको सहभागिताका लागि राष्ट्रपति सी चिनफिङको तर्फबाट औपचारिक पत्र प्राप्त भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । नेपालबाट अरु को-को नेता सहभागी हुनेबारे जानकारी नभएको पनि उहाँले बताउनुभयो ।

भर्चुवल बैठकमा कोभिड महामारी नियन्त्रणको प्रयास, समन्वय र सहकार्य, चीनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी पार भएको अवसरमा सो पार्टीको अनुभव, चीनले गरेको प्रगति र अन्य देशसँगको सहकार्यका विषयमा समेत छलफल हुने विश्वास गरिएको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले भर्चुवल बैठकमा सहभागी हुनुभई आफ्नो धारणा राख्नुहुने कार्यक्रम भएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठक अपरान्ह ५ बजे हुनेछ । गोरखापत्र अनलाईन

Facebook Comments