Sat. Apr 20th, 2024

आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’

चुँदी रम्घा (तनहुँ), मङ्सिर २८ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखर कटेरीमा रामायण भवन निर्माण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण तिब्र पारी भवन निर्माण पूरा गरिएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । भवन निर्माण पूरा भए पनि भवनको भित्तामा रामायणमा भएका श्लोकहरु, रामायणसँग सम्बन्धित तस्बिर कुद्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । करीव तीन करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाईएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले गोरखापत्रलाई जानकारी दिनुभयो ।

रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको वार्ताली सालको काठको प्रयोग गरी बनाईएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएको छ । रामायण भवनको निर्माणले भानु जन्मस्थललाई साहित्यिक तिर्थस्थलको रुपमा विकास गर्ने कार्यलाई मद्दत पुग्ने अपेक्षा लिईएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउनुहुन्छ । कलात्मक तरिकाबाट भवन निर्माण गरिएकाले पर्यटकको थप आर्कषण बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।

दश रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्ताकालय, शौचालय, पोखरीलगायत बनाउने गुरुयोजना रहेको नगरप्रमुख गौलीले जानकारी दिनुभयो । यस गुरुयोजनाको लागत १६ करोडको रहेको छ ।

नगरप्रमुख गौलीका अनुसार पर्यटकलाई थप आर्कषित गर्न आदिकविको सयफिट अग्लो शालिक निर्माणलगायतको दीर्घकालिन गुरुयोजना निर्माण गरिएको छ । चुँदी रम्घाबेसीदेखि शिखर कटेरीसम्म पुग्ने कच्ची मोटर मार्ग भएकाले आवातजावत गर्न असुविधा भएकोले त्यस क्षेत्रको स्तरउन्नति हुन आवश्यक रहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट बताउनुहुन्छ ।

‘ भानुभक्तको सम्मानको लागि पनि बाटो पक्की हुनुपर्ने हो’ वडाध्यक्ष भाटले भन्नुभयो–‘बाटो राम्रो नहुँदा हिउँद याममा समेत बस सञ्चालनमा ल्याउन सकिंदैन, वर्षायामको त कुरै छोडौं ।’ निमार्ण पूरा भएकाले भवन चाँडै नै उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

नेपाली भाषा र साहित्यको उत्थान तथा विकासमा आदिकवि भानुभक्तको देन अविस्मरणीय छ । आजसम्म नेपालीले भगवान बुद्ध पछि सबैभन्दा धेरै चिनेको नाम भानुभक्त हो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त वि.स.१९७१ साल असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो ।

भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरी जस्ता काव्य कृतिले नेपाली जनजीवनमा नयाँ स्पन्दनको सञ्चार गरेको छ । सबै नेपालीलाई एक सुत्रमा बाँधेर नेपाल र नेपालीको परिचयमा भानुभक्तले गरेको प्रयास उल्लेखनीय मानिन्छ ।

Facebook Comments