Sun. Sep 22nd, 2024

अनेरास्ववियुद्वारा हेलम्बुमै पुगेर बाढी-पहिरो प्रभावितलाई राहत वितरण

काठमाडौं, २०७८ असार ५ गते शनिबार ।  नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत तथा स्वास्थ सामग्री वितरण गरेको छ । अनेरास्ववियुले शुक्रबार प्रभावित क्षेत्र हेलम्बुमै पुगेर खाद्य तथा स्वास्थ सामग्री वितरण गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहितको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिकाको वडा नम्बर २ मै पुगेर राहत वितरण गरेको हो ।

अनेरास्ववियुले सिन्धुपाल्चोकका बाढी-पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला खाद्य, स्वास्थ्य सामग्री, लत्ताकपडा वितरण गरेको महासचिव लामाले जानकारी दिनुभयो । अनेरास्ववियुको पहलमा संकलित राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आफ्नो क्षेत्रमा पहिलोपटक अनेरास्ववियुले राहत उपलब्ध गराएको बताउनु भयो ।

शुक्रबार बिहानै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राहत सामग्री अध्यक्ष पराजुलीसहितको टोलीलाई हस्तान्तरण गर्नुभएको थियो । राहत वितरण टोलीमा अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित महासचिव आरती लामा, उपाध्यक्ष माधव पन्त र सचिवहरू मिलन राइ, मेघनाथ चापागाइँ, महेश श्रेष्ठ , नरेश न्यौपाने र अशोक थापा तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments