वर्तमान !
- कवि भवानी न्यौपाने "भावना"
काठमाडौं, २०७८ जेठ १५ गते शनिबार ।
-कवि भवानी न्यौपाने भावना
वियोगका आहालहरूले भिजेको धर्तीमा
मानिस अश्रु झरनाले पखाल्दैछन् चोटहरू
रुदैछन् आँप, सुन्तला र मेवाका बोटहरू
कोरोनामुक्त समाजको कामना गर्दै
दर्दले कलेटी परेका छन् सबैका ओठहरू
मूर्तलिपिका अमूर्त ध्वनिहरूसँगै
अँध्यारिएका छन् दिवा र रातका तिता सन्नाटाहरू
दिनानुदिन निष्ठुर बन्दै अचेल
फिजाउँदैछ कोरोनाले विषाक्त नङ्ग्राहरू
काँपिरहेछन् त्रासदीले सुन्दर लता र वृक्ष -बोटहरू
भोजन,व्यवस्थित बसाइको ख्याल गर्ने बेला आइपुगेकोछ समय
अस्तव्यस्तताबाट पर उभिएर एकछिन जिन्दगी सोचौँ
पानीको फोका न हो
कतिखेर प्याट्ट फुट्छ र सकिन्छ दुनियाँमा अभिनय
अनि प्राण उड्नेछ निर्दयी यमराजको निवासतिर
प्रियजनहरू हाम्रो सामू नमीठो वर्तमान ठिङ्ग उभिएकोछ
आएकाछन् कहालीलाग्दा चुनौतीहरू
वियोगी वायु मन्द चलिरहेको बेला
म आफ्नै जीवनको सिंहावलोकन गर्दै
आफ्नै मनको क्यानभासबाट सङ्कलित
छिद्र छिद्र स्मृतिका डोबहरू मनको तारमा जोड्दै
मलाई माया गर्ने साथीभाइ र आफन्त सम्झिएर चल्दैछु
मैले कहिँ कतै अञ्जानमा कसैलाई मन दुखाएकी भए
भुलिदिनुहोला म भित्रका खराब खोटहरू
हजुरहरूको हृदयमा पलपल
सदा सुरक्षित भैदिऊन् मेरा निर्दोष अठोटहरू
मेरा निर्भीक र पराक्रमी पाखुरी चाल्दै
जिन्दगीको आफ्नो स्वाबलम्बी गाडी हाँक्दैछु निरन्तर
पशुपतिनाथलाई मुटुमा स्थापित गरेर।