लिखु जलविद्युत् आयोजनाको बाँध भत्कियो
- कमजोर संरचना निर्माण मुख्य कारण
काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । परीक्षण प्रसारण गर्ने क्रममा ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् आयोजनाको बाँध भत्किएको छ । ओखलढुङ्गा र रामेछापको सीमावर्ती नदीमा निर्माण भएको बाँध शुक्रबार बिहान फुटेको हो ।
सम्पन्न हुने चरणमा रहेको ड्याममा बिहीबार पानी हालेपछि राति नै बाँध फुटेको हो । आयोजनाको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको थियो । यो आयोजनामा काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन् । जसअन्तर्गत सिभिलतर्फको काम गर्ने जिम्मा भारतीय कम्पनी एसएसएनआरको छ ।
आयोजना सम्पन्न भएपछि खिजिदेम्बा गाउँपालिका-३, बिमिरेमा निर्माण भएको ड्यामबाट भूमिगत सुरुङ हुँदै लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने योजनाअनुरूप ड्याममा पानी हालिएको खिजीदेम्बा गाउँपालिका-१ का वडाध्यक्ष सरोज सुनुवारले बताउनुभयो । सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेगावाटको रहनेगरी डिजाइन गरिएको भए पनि प्रवद्र्धक कम्पनीले उत्पादन क्षमता घटाएर ५२.४ मेगावाटका लागि काम अगाडि बढाएको थियो ।
बाँध फुट्नुमा प्रवद्र्धक कम्पनी ग्रिन भेन्चर्स र निर्माण कम्पनी एसएसएनआरले गरेको निर्माणमा लापरबाही भएको आरोप स्थानीयवासीले लगाएका छन् । कमजोर संरचना निर्माणका कारण पानी ड्यामले थाम्न नसकेको रगनीका स्थानीय सन्तनारायण श्रेष्ठले बताउनुभयो ।
पानी हाल्दैमा फुट्ने ड्याम बनेको रहेछ अरू संरचना त कस्तो बनेका होलान् भन्ने शङ्कास्पद भएको श्रेष्ठको भनाइ छ । बाँध फुट्दा आयोजनाको ठूलो क्षति भएको भए पनि क्षतिको यकिन विवरण आउन सकेको छैन । यस विषयमा आयोजना स्थलमा रहेका आयोजनाका जनसम्पर्क अधिकृत कृष्णदास श्रेष्ठलाई धेरै पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
आयोजनाको मुख्य संरचना ओखलढुङ्गातर्फ रहे पनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुङ्गा र रामेछाप दुवै जिल्लामा छ । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका-१ र ३ र लिखु गाउँपालिका-९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको १, २ र ७ नं. वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनाका साथ आयोजना निर्माण सुरु भएको थियो ।
भारतीय कम्पनी एसएसएनआरले बाँधस्थल र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गरिरहेको छ । यस्तै नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरले विद्युत् गृह, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गरिरहेको छ ।
१० अर्ब १६ करोड रुपियाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैङ्क, ग्लोबल आईएमई बैङ्क, नबिल बैङ्क, सनराइज बैङ्क, नेपाल एसबीआई बैङ्क, सानिमा बैङ्क र प्रभु बैङ्कले ७५ प्रतिशत लगानी गर्ने र आयोजनामा २५ प्रतिशत लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको छ । २०७३ असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगस्टभित्रमा समापन गर्ने लक्ष्य राखिएको थियो तर पूरा हुन सकेको थिएन । गोरखापत्र अनलाईन