Tue. Apr 30th, 2024

साग पुरुष फुटवलमा नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौं, २०७६ मंसिर २२ गते आईतबार ।

नेपाल तेह्रौं दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा बङ्गलादेशमाथि जित हात पार्दै नेपालले फाइनलमा भुटानसँगको भेट सुनिश्चित गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार साँझ सम्पन्न खेलमा नेपालले बङ्गलादेशमाथि १–० को जित हात पार्यो । नेपालको जितमा सुनिल बलले गर्नुभएको एकमात्र गोल नै निर्णायक हुन गयो । उहाँले खेलको दशौं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासलाई उत्कृष्ट दिशा दिएर बङ्गलादेशको गोलपोष्ट चुमाउनुभयो ।

नेपालले फाइनलमा स्थान सुरक्षित गर्न बङ्गलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने थियो । तर अन्तिम खेलमा नेपालले पाहुना टोलीलाई १–० ले हराएर तीन अङ्क थप्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । जितसँगै नेपालले चार खेलमध्ये तीनमा जित हात पार्दै ९ अङ्कसहित स्वर्णको स्पर्धाका लागि स्थान पक्का गरेको हो ।

Facebook Comments