Sat. Sep 21st, 2024

निगमको जहाज आजै चीन जाने, चार दिन दैनिक ५५० वटा सिलिण्डर ल्याइने

काठमाडौं, २०७८ जेठ १ गते शनिबार । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अक्सिजन सिलिन्डर ल्याउँन आज चीनको राजधानी पैचिंग जाने भएको छ । निगमको वाइड बडी जहाजले आज राति ११ः०० बजे  पैचिंगको लागि उडान भर्न लागेको हो ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौँ फर्किने र चीनका लागि उडान भर्नेछ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको पैचिंगमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ । उक्त प्रयोजनका निम्ति निगमको जहाज पैचिंग पठाइनेछ ।

निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नं आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति पैचिंग उड्दैछ । मे १५, १६, १७ र १८ तारिखमा पैचिंगबाट दैनिक ५५० वटा सिलिन्डर ल्याइनेछ । काठमाडौं-पैचिंग उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ । निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो । गोरखापत्र अनलाईन

Facebook Comments