Mon. Apr 20th, 2026

लडाइँ चर्कँदा गाजासँगको सीमामा इजरेलद्वारा थप फौज परिचालन

       

काठमाडौं, २०७८ बैशाक ३१ गते शुक्रबार । इजरेली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ। सेनाको एउटा वक्तव्यमा हवाई र स्थल फौजहरूले उक्त क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ।

गाजामा रहेका एकजना बीबीसी संवाददाताका अनुसार गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको छ।

भिडिओ फुटेजमा विस्फोटनले गाजाको आकासमा बिजुली चम्किएको जस्तो देखिन्छ। त्यहाँ ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १ सय नाघेको छ।

प्यालेस्टाइनले गरेको रकेट हमलामा इजरेलमा सात जनाले ज्यान गुमाएका छन्। लडाइँ रोक्न गरिएका कूटनीतिक अनुरोधले हालसम्म कुनै प्रभाव पारेको छैन।

अमेरिकाले कूटनीतिक प्रयासलाई केही समय दिन आफूले चाहेको भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक अर्को हप्तासम्म सारेको छ।

इजरेलले गाजासँगको आफ्नो सीमामा थप ट्याङ्क र फौजहरू परिचालन गरेको छ। केही दिनयताको हिंसापछि उसले स्थल कारबाहीको विचार गरिरहेको जनाइएको छ। स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै बिहीबार खटाइएको छ।

आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाइएको छ। स्थल सेना परिचालन गर्ने निर्णय गरिएको छैन।

तर इजरेली सेनाले सम्भावित कारबाहीको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ जसबारे सेनाका प्रमुख र सरकारका विभिन्न तहहरूले निर्णय गर्नुपर्ने हुन्छ। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार