Sat. Sep 21st, 2024

थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ८८ जनाको मृत्यु

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ७ सय ८७ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जना र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ९४ हजार ७ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थप ४ हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ८८ हजार १ सय ६० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा र ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

यसै गरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्यामा आज ८८ जना थपिएको छ । आज थप ५२ जनाको संक्रमण बाट मृत्यु भएको र थप २६ जनाको यस अगाडि नै विभिन्न मितिमा कोरोनाका कारण मृत्यु भई आज जानकारीमा आएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । योसँगै नेपालमा हालसम्म ३ हजार ७ सय २० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा थप ३ हजार १ सय ६१ जना, ललितपुरमा ५ सय ३३ जना र भक्तपुरमा ५ सय ४ जना गरी काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना संक्रमित थपिएका छन् ।

Facebook Comments