Sat. Sep 21st, 2024

नेकपाका केन्द्रीय नेता माइला लामा रिहा (भिडियो गित सहित)

काठमाडौं, २०७८ बैशाक १७ गते शुक्रबार । सङ्खुवासभा जिल्ला कारागारमा रहनु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा हुनुभएको छ । सरकार र विप्लव नेतृत्वको नेकपा समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा हुनुभएको हो । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिनुभयो । नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो ।

लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो । जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो । विप्लव समूहले आफ्ना नेता-कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । नेता लामालाई परिवारको जिम्मामा छाडिएको छ ।

नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत हुनुहुन्थ्यो । तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उहाँ विप्लव समूहमा लाग्नुभएको थियो । माओवादी जनयुद्धको क्रममा उहाँका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ ।

उहाँले सयौँ क्रान्तिकारी गीत गाउनुभएको छ । उहाँले सङ्गीत दिनुभएका धेरै गीतमध्ये नेत्रविक्रम चन्द विप्लवको शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ ।

कसले बनायो दाजै उडी जाने बस …!! Nirmala Ghising ! Maila Lama!!

Facebook Comments